साढे ३ करोड खर्चेर दैलेखमा धमाधम निर्माण हुँदैछ यात्रु ‘रिफ्रेस सेन्टर’, सडक दुर्घटना कम हुने



काठमाडौं । सवारी दुर्घटना घटाउन कर्णाली प्रदेशका राजमार्ग र सडक छेउमा रिफ्रेस सेन्टर (आरामस्थल) निर्माण शुरु भएको छ ।

यातायात व्यवस्था विभागको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको आठबीस नगरपालिका वाड नम्बर ३ धौलाकोटमा रिफ्रेस सेन्टर निर्माण शुरु गरिएको हो ।

कर्णाली राजमार्गका अधिकांश सडक कच्ची, घुमाउरा र मोडा धेरै भएकाले लामो यात्रा गर्न सवारी चालक थकित हुने गरेका छन् । जसकारण दुर्घटनाको जोखिम उच्च हुने गरेको छ ।

लामो दूरीको यात्रामा चालकहरू थकित हुने र अधिकांश सवारी दुर्घटना हुन थालेपछि आठबीस नगरपालिकामा रिफ्रेस सेन्टर स्थापना शुरु गरिएको विभागकी इन्जिनियर शितन श्रेष्ठले बताइन् ।

कर्णाली राजमार्गमा बारम्बार सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति हुने गरेको छ । सवारी दुर्घटना धेरै हुने भएपछि मृत्युमार्गको उपनाम पाएको कर्णाली राजमार्गमा पर्ने दैलेखको आठबीस नगरपालिकामा पहिलो चरणमा रिफ्रेस सेन्टर स्थापना गर्न खोजिएको हो ।

‘अधिकांश दुर्घटना चालकको कारणले हुने हुन्छन्, लामो दूरीको यात्रामा चालकलाई आराम चाहिन्छ, कर्णालीमा सवारी दुर्घटनाको उच्च जोखिम छ’, श्रेष्ठले क्लिकमाण्डूसँग भनिन्, ‘सडकको अवस्था कमजोर छ, यसकारण पनि हामीले यहाँ रिफ्रेस सेन्टरलाई प्राथमिकता दिएका हौं ।’

तोकिएका त्यस्ता स्थलमा कम्तीमा चालक र यात्रुले आधा घण्टासम्म आराम गर्नपुर्ने हुन्छ । यस्तै ट्राफिक प्रहरीले सुरक्षित सवारी सञ्चालनबारे कक्षा दिएपछि मात्र चालक पुनः गन्तव्यतर्फ जान पाउने छन् ।

निरन्तरको यात्राबाट थकित चालकले रिफ्रेस सेन्टरमा आराम गर्न पाउने, सवारीले पनि आराम पाउने र गति पनि नियन्त्रण हुने भएकाले सवारी दुर्घटनामा कमी आउने उनीको दाबी छ ।

रिफ्रेस सेन्टर निर्माण गर्न विभाग र मजदुर कन्स्ट्रक्सनबीच २०७७ मंसिर ८ गते ठेक्का सम्झौता भएको छ । निर्माण व्यवसायीले भ्याटसहित ३ करोड २२ लाख ६६ हजार रुपैयाँमा २०७८ असार २५ गतेभित्र रिफ्रेस सेन्टर निर्माण सम्पन्न गर्नेगरी ठेक्का प्राप्त गरेको छ । हालसम्म भवन संरचनातर्फ ६० प्रतिशत भौतिक प्रगति हासिल भएको उनले जानकारी दिइन् ।

रिफ्रेस सेन्टरनमा सूविधा सम्पन्न भवनसहित सवारीसाधनका लागि प्रयाप्त पार्किङ क्षेत्र हुनेछ । रिफ्रेस सेन्टरमा चालक तथा यात्रुका लागि खान र बस्ने व्यवस्था हुन्छ ।

रिफ्रेस सेन्टरमा ट्राफिक प्रहरी कार्यालय र सुरक्षा गार्डको पनि प्रबन्ध मिलाइने छ । साथै सार्वजनिक शौचालयसहित सवारीसाधनका लागि पर्याप्त पार्किङस्थल रहनेछ ।

रिफ्रेस सेन्टर निर्माण गर्न विभाग र नगरपालिकाबीच कार्य जिम्मेवारीसहितको सहकार्य तथा समन्वयन गर्ने समझदारी भएको छ ।

विभागले रिफ्रेस सेन्टर सञ्चालन सम्बन्धी कार्य विधि बनाएर नगरपालिकालाई हस्तान्तरण गर्नेछ । रिफ्रेस सेन्टरको संरक्षण र व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको रहनेछ ।

यस्तै विभागले पूर्व-पश्चिम राजमार्गमा पर्ने कपिलबस्तुको गोरुसिंहे खण्डमा पनि रिफ्रेस सेन्टर बनाउने तयारी गरेको छ । गोरुसिंहेमा निर्माण हुने रिफ्रेस सेन्टरको विस्तृत परियोजा प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।

आगामी आर्थिक वर्ष गोरुसिंहेको रिफ्रेस सेन्टरको ठेक्का लगाउने विभागको तयारी छ ।


पुष्प दुलाल