जयनगर-बर्दिवास रेल वैशाखभित्रै चल्छ: मन्त्री नेम्वाङ




काठमाडौं । जयनगर-बर्दिवास रेल वैशाख महिनाभित्रै सञ्चालन हुने भएको छ । जयनगर-बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने तयारी गरिएको छ ।

पूर्व-पश्चिम र जयनगर-बर्दिवास रेल्वेको अनुगमन तथा रेल सञ्चालनको तयारीबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आज (आइतबार) महोत्तरीको बर्दिवासस्थित प्रस्तावित रेल्वे स्टेशन क्षेत्रको अवलोकन निरीक्षण गरे ।

रेल विभागका महानिर्देशक प्रमिला बज्राचार्य, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराई लगायत अधिकारीको पनि उपस्थिति थियो ।

निरीक्षणपछि मन्त्री नेम्वाङले जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा वैशाखभित्रै रेल सेवा सञ्चालन गर्न सकिने बताएका हुन् ।

‘जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल लिक निर्माण कम्पनीले हाम्रो जिम्मा लगाइसकेको छ, रेल सेट पनि गत असोजमै ल्याइसकिएको छ’, मन्त्री नेम्वाङले बर्दिबासमा सञ्चारकर्मीसँग भने, ‘अब जनशक्ति व्यवस्थापनको अन्तिम चाँजो मिलाइँदैछ, वैशाख महिनाभित्रै प्रथम खण्डमा रेल चल्छ ।’

जयनगर–बर्दिवास रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये कुर्थादेखि जयनगरसम्मको लिक निर्माण गत वर्ष नै सम्पन्न भए पनि रेलसेट नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन । अब रेल सञ्चालनका लागि भारतबाट दक्ष जनशक्तिको व्यवस्थापनको टुङ्गो लागेको हुँदा प्रथम खण्डको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा रेल सञ्चालनको करीब सबै तयारी पूरा भएको मन्त्री नेम्वाङको भनाइ छ ।

जयनगर–बर्दिवास रेल्वेको जम्मा ६९ किलोमिटर दूरीमध्ये प्रथम खण्ड जयनगरबाट कुर्थासम्म ३४ किमी, कुर्थाबाट महोत्तरीको भङ्गाहा नगरपालिका-५ स्थित बिजलपुरा स्टेशनसम्म १७ किमी दोस्रो खण्ड र बिजलपुराबाट महोत्तरीकै बर्दिबाससम्म १८ किमी दूरीलाई तेस्रो खण्ड रहेको छ ।

अहिले प्रथम खण्ड तयार भएर सेवा सञ्चालनको तयारी गरिएको र दोस्रो खण्डको काम एक महिनाभित्रै सम्पन्न हुने हुँदा सो खण्डमा पनि चालु आर्थिक वर्षभित्रै (असार मसान्तभित्रै) रेल सेवा सञ्चालनमा आइसक्ने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।


क्लिकमान्डु