बुध्द एयरले मे १ गतेदेखि ६ वटा गन्तव्यमा अन्तरप्रदेश उडान शुरु गर्ने, कुन गन्तव्यको भाडा कति ?



काठमाडौं । आन्तरिक उडानतर्फ अग्रणी वायूसेवा कम्पनी बुध्द एयरले मे १ तारिखदेखि अन्तरप्रदेश उडान शुरु गर्ने भएको छ । बुध्द एयरका प्रबन्ध निर्देश बीरेन्द्रबहादुर बस्नेतले विभिन्न ६ वटा गन्तव्यमा अन्तरप्रदेश उडान शुरु गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार बुध्द एयरले अब पोखरा-नेपालगञ्ज-पोखरा, पोखरा-बिराटनगर-पोखरा, पोखरा-सिमरा-पोखरा, तुम्लिङटार-बिराटनगर-तुम्लिङटार, पोखरा-भैरहवा-पोखरा, भैरहवा-भरतपुर-भैरहवा रुटमा उडान शुरु गर्नेछ ।

‘बुध्द एयरले गण्डकी र लुम्बिनी प्रदेश, गण्डकी र प्रदेश नम्बर २, गण्डकी र प्रदेश नम्बर १ तथा लुम्बिनी र प्रदेश नम्बर ३ लाई हवाईमार्गबाट जोड्नका लागि प्रयास गरेको हो, आगामी दिनमा अन्य गन्तव्यमा पनि सम्भावनाका आधारमा उडान गरिनेछ,’ बस्नेतले भने ।

बुध्द एयरले पोखरा-भैरहवा-पोखरामा यसअघि पनि उडान गर्दै आएको थियो ।

त्यसैगरी भैरहवा–भरतपुर–भैरहवा रुट छोटो भए पनि अहिले त्यस क्षेत्रमा राजमार्ग स्तरोन्नतीको काम भएकाले हवाई यात्रुहरुलाई सेवा दिन सकिने कम्पनीको विश्वास छ । हाल बुटवल–नारायणगढ सडकखण्डमा राजमार्गको सडक स्तरोन्नतीको काम शुरु भइसकेकाले दैनिक घण्टौ जाममा बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
‘दीर्घकालिनरुपमा यो रुटमा चलाउन सहज नहुन सक्छ तर तत्कालका लागि यो रुटको उडानले यात्रुलाई सेवा दिन सकिन्छ भन्ने विश्वास छ,’ बस्नेतले भने ।

‘ट्रकरुटको हकमा हामी स्यासुरेसनमा पुगिसकेको अवस्था छ, अब नयाँ गन्तव्य खोज्ने क्रममा अन्तरप्रदेश उडान शुरु गर्न लागेका हौं,’ बस्नेतले भने ।

उनका अनुसार यी सबै गन्तव्यमा बीचक्राफ्ट डी विमानमार्फत् सातामा ३ दिन उडान गरिनेछ ।

‘शुरुमा हामीले बीचक्राफ्ट विमानमार्फत् सातामा ३ दिन उडान गर्नेछौं, यात्रुहरुको चापका आधारमा भविष्यमा दैनिकरुपमै उडान गर्ने गरी योजना बनाएका छौं,’ उनले भने ।

उनका अनुसार शुरुमा बीचक्राफ्ट विमानबाट उडान गरिए पनि यात्रुहरुको चाप बढेपछि एटीआर ७२ बाटै उडान गरिनेछ । तर अहिले बीचक्राफ्ट विमानबाट उडान शुरु भए पनि भाडादर भने एटीआर ७२ कै हुनेछ ।

‘शुरुवातमा भाडादर सस्तो होस् भन्नका लागि ब्राभो अन्तर्गत सस्तो टिकट मात्रै बिक्री गरिरहेका छौं,’ उनले भने ।

अन्तरप्रदेशीय उडान शुरु गर्न लागेको बुध्द एयरले प्रदेश र संघीय सरकारसँग विशेष सहुलियत दिनुपर्ने माग गरेको छ ।

यस्तो छ भाडा
बुध्द एयरका अनुसार शुरुमा पोखरा-नेपालगञ्ज-पोखराका लागि एकतर्फ भाडा ४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

साथै पोखरा-बिराटनगर-पोखराको एकतर्फी भाडा ६ हजार रुपैयाँ, पोखरा-सिमरा-पोखराको एकतर्फी भाडा ४ हजार ३ सय रुपैयाँ, तुम्लिङटार-बिराटनगर-तुम्लिङटारको एकतर्फी भाडा २ हजार ५ सय रुपैयाँ, पोखरा-भैरहवा-पोखराको एकतर्फी भाडा ३ हजार १ सय रुपैयाँ र भैरहवा-भरतपुर-भैरहवाको एकतर्फी भाडा २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यो बुध्द एयरले तय गरेको सबैभन्दा सस्तो दरको भाडा हो । हाललाई कम्पनीले यही मूल्यमै टिक बिक्री गर्नेछ ।


क्लिकमान्डु