फिल्म हल खुले तर दर्शक आएनन्, घाटामै सञ्चालन गर्न बाध्य



कोरोनाका कारण बन्द भएको हात्तिसारस्थित जय नेपाल सिनेमा हल

काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा प्रभावित क्षेत्रमध्येको एक हो चलचित्र क्षेत्र ।

कोरोना महामारीका कारण गत वर्षको चैत ११ गतेदेखि लकडाउन हुनुभन्दा अघि नै चलचित्र हलहरु बन्द भइसकेका थिए ।

जसका कारण चलचित्र हल, त्यहाँ कार्यरत जनशक्ति प्रभावित भएका थिए । तर पछिल्लो समयमा आएर चलचित्र हलहरु खुले पनि दर्शक नपाउँदा घाटामै सञ्चालन गरिरहनु परेको अवस्था छ ।

‘न त नयाँ चलचित्र नै छन्, न त दर्शक नै छन्, यस्तो अवस्थामा घाटामै चलाउनुको विकल्प छैन,’ क्यूएफएक्सका सञ्चालक तथा चलचित्र निर्माता नकिम उद्दिनले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार कोरोना महामारीपछि हल खुलेको डेढ महिना मात्रै भयो, यसबीचमा दर्शकहरु नआउँदा घाटामै चलचित्र हल सञ्चालन भइरहेका छन् ।

‘यसबीचमा ८/१० वटा नयाँ चलचित्र रिजिल भए, केही पुरानै चललित्र पनि हलमा चलाइयो । तर ३० प्रतिशत अकुपेन्सी पुर्याउन पनि हम्मेहम्मे भयो,’ उनले भने ।

उनका अनुसार भारतीय चलचित्र रुही र अंग्रेजी चलचित्र राया हेर्न केही दर्शकहरु आए पनि अहिले अवस्था भने उस्तै छ । उनले ती दुई चलचित्र लाग्दा हलमा २०/२५ प्रतिशत अकुपेन्सी भएको थियो भने बाँकी चलचित्रको हकमा ५ देखि १० प्रतिशत मात्रे अकुपेन्सी भइरहेको छ ।

‘कम्तीमा पनि ३० प्रतिशत अकुपेन्सी भयो भने ब्रेक इभनमा आउँछ तर यहाँ त २० प्रतिशतभन्दा अकुपेन्सी बढी हुन सकेन,’ उनले भने ।

उनले छिमेकी मुलुकलगायतका देशमा कोरोनाको नयाँ भेरियण्ट देखिएको र त्यसको असर नेपालमा पनि पर्न थालेकाले अझै १ वर्षसम्म यस क्षेत्रको अवस्थामा उस्तै रहने बताए ।

‘कोरोना महामारीका कारण विदेशमा पनि नयाँ चलचित्र बन्ने र रिजिल हुने क्रम रोकिएको छ, भारतमा कोरोनाको लहर बढ्दा हलिउडलगायतका चलचित्र रिलिज भएका छैनन् । त्यसको असर नेपालमा पनि पर्छ, त्यसैले अझै १ वर्षसम्म अवस्था सामान्य हुने अवस्था छैन,’ उनले भने ।

सरकारले कोरोना प्रभावितको सूचिमा अति प्रभावित क्षेत्रमा समेटे पनि चलचित्र क्षेत्रले अपेक्षा गरे अनुसारको राहत भने सरकारबाट नपाएको उनले गुनासो गरे ।

विद्युत डिमाण्ड शुल्कलगायतका सेवाहरु पाउन सकिएको छैन, तर कर्जाको पुनरसंरचना र पुनरकर्जा भने केही हलले पाएको उनको टिप्पणी छ ।

यसबीचमा नकिम उद्दिन र उनको कम्पनीले नै सञ्चालन गरिरहेको हात्तिसारस्थित जयनेपाल हल बन्द भएको अवस्था छ ।

उनका अनुसार २/३ वर्षदेखि निरन्तर घाटामा रहेको जय नेपाल हलले कोरोना कहरको मार खेप्न नसक्दा सधैका लागि बन्द गरिएको उनले बताए ।

‘पछिल्लो समयमा मलहरुमा भएका सिनेमा हलमा बढी दर्शक आउन थाले, यसले गर्दा जय नेपाल जस्ता सिनेमा हलमा दर्शक कम आए र घाटा बढ्न थाल्यो, त्यसैले बन्द गर्नु परेको हो,’ उनले भने ।


क्लिकमान्डु