सगरमाथाका लागि ३३८ सहित ६२६ जनाले लिए हिमाल आरोहणको अनुमति, ४५ करोड बढी राजस्व



काठमाडौं । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि वसन्त ऋतुको समयमा हालसम्म ६२६ जनाले अनुमति लिएका छन् । सगरमाथा, अन्नपूर्ण, धौलागिरि र लोत्सेसहित विभिन्न १६ वटा हिमाल आरोहणका लागि शुक्रबारसम्म अनुमति लिनेको संख्या ६२६ पुगेको छ ।

विभागका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका लागि ३३८ जनाले अनुमति लिएका छन् । ३६ वटा टोलीका २६६ जना पुरुष र ८४ जना महिलाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् ।

त्यसैगरी लोत्से हिमाल आरोहणका लागि हालसम्म १०४ जनाले अनुमति लिएका छन् । साथै अन्नपूर्ण हिमालका लागि ४४ जना, धौलागिरि हिमाल आरोहणका लागि ३० जना, आम दब्लम हिमालका लागि २७ जना, नुप्से हिमालका लागि २३ जना र मकालु हिमालका लागि २० जनाले अनुमति लिएका छन् ।

४५ करोड बढी राजस्व
पर्यटन विभागले विभिन्न हिमाल आरोहणको अनुमति दिए वापत ४५ करोड रुपैयाँबढी राजस्व संलकन गरेको छ । विभागका अनुसार १६ वटा हिमाल आरोहणका लागि ७१ वटा टीमका १४५ महिला र ४९३ जना पुरुषले ४५ करोड १९ लाख ५५ हजार ४९४ रुपैयाँ राजस्व बुझाएका छन् ।


क्लिकमान्डु