२०७७ मा विदेशी लगानीको प्रतिबद्धता साढे २२% ले घट्यो, पर्यटन क्षेत्रमा भने बढ्यो
काठमाडौं । २०७७ सालमा विदेशी लगानीको प्रतिबद्धता २२.५ प्रतिशतले कमी आएको छ । वर्ष २०७६ को तुलनामा २०७७ सालमा विदेशी लगानीको प्रतिबद्धतामा उल्लेख्य रुपमा कमी आएको उद्योग विभागले जानकारी दिएको छ ।
विभागका अनुसार २०७६ सालमा ४३ अर्ब ७७ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो भने गत वर्ष २०७७ सालमा जम्मा ३३ अर्ब ९२ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।
२०७७ सालमा उद्योगा विभागमार्फत् आएको विदेशी लगानीको प्रतिबद्धतामा सबैभन्दा बढी पर्यटन क्षेत्रमा ५२ प्रतिशत लगानीको प्रतिबद्धता आएको छ ।
कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रमा लगानीको भने ओइरो लागेको छ । जसमध्ये अधिकांश लगानी चिनियाँ लगानीकर्ताबाट आएको छ ।
पर्यटन क्षेत्रमा विशेष गरी काठमाडौं, पोखरा, भरतपुरमा होटल तथा रेष्टुराँका लागि लगानीको प्रतिबद्धता आएको छ । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य राखेको थियो । सोही अनुसार स्वदेशी र विदेशी लगानीकर्ताहरु पर्यटन क्षेत्रका पूर्वाधारमा लगानी बढाइरहेका छन् ।
२०७६ सालमा पर्यटन क्षेत्रमा मात्रै १५ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएकोमा २०७७ सालमा पर्यटन क्षेत्रमा मात्रै १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ ।
त्यसैगरी सेवामूलक क्षेत्रमा कुल विदेशी लगानी प्रतिबद्धतामध्ये २७.७ प्रतिशत छ । त्यसैगरी सूचना प्रविधि क्षेत्रमा १० प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ८.५ प्रतिशत र कृषि क्षेत्रमा १.६ प्रतिशत विदेशी लगानीको प्रतिबद्धता आएको छ ।