ललितपुर महानगरलाई ‘साइकल सिटी’ बनाउँदै चिरीबाबु, कहाँ-कहाँ बन्दैछन् साइकल लेन ?



काठमाडौं । ललितपुर महानगर साइलकमैत्री बन्ने भएको छ । महानगरभित्रका सडकलाई साइकलमैत्री बनाउने अभियान थालनी भइसकेको छ ।

महानगरभित्र ३२ किलोमिटर सडकखण्डमा साइकल लेन निर्माण भइसकेको मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

महानगरले हरियो रंग पोतेर ठाउँ-ठाउँमा साइकलको चित्र राखेर छुट्टै साइकल लेन बनाएको छ । विस्तार चक्रपथको कोटेश्वर–बल्खु सडकखण्डमा पनि साइकल लेन बनाउने योजनामा महानगर जुटिसकेको छ ।

कोटेश्वर-बल्खु ७.७ किलोमिटर सडक खण्डमा बन्ने साइकल लेनको डिजाइन गर्न महानगरले नेपाल साइकल सोसाईटीलाई जिम्मा दिइसकेको छ । एक साताअघि महानगर र सोसाइटीबीच कोटेश्वर-बल्खु खण्डमा साइकल लेनको डिजाइन गर्ने सैद्दान्तिक सहमति भइसकेको छ ।

निर्माण भइसकेको ३२ किलोमिटर साइकल लेनको डिजाइन पनि सोसाइटीले तयार गरेको थियो । २०७६ सालदेखि महानगरमा साइकल लेन बनाउन शुरु गरिएको हो ।

पहिलो चरणमा कुपन्डोल, जावलाखेल, मंगलबजार सडक खण्डको दायाँ र बायाँ ५/५ किमी र दोस्रो चरणमा सातदोबाटो, लगनखेल, एकान्तकुना सडक खण्डको दायाँ र बायाँ ११/११ किलोमिटरमा साइकल लेन विस्तार भइसकेको छ । यो साइकल लेन निर्माण गर्न महानगरपालिकाले करिब ७० लाख रुपैयाँ खर्च गरिसककेको छ ।

ललितपुर महानगरलाई साइकल सिटीको रुपमा विकास गर्न साइकल लेन निर्माण प्रक्रियालाई प्राथमिकतासाथ अघि बढाइएको मेयर महर्जनले बताए ।

‘ललिपुर सांस्कृतिक सहर हो, जैविक इन्धनबाट चल्ने सवारीसाधनबाट निस्किने धुँवा, धुलोले सहरको सौन्दर्य बिगारेको छ, महानगरको क्षेत्रफल पनि सानो छ,’ मेयर महर्जनले क्लिकमाण्डूसँग् भने, ‘केही मिनेटको यात्रामै सहरको एक कुनाबाट अर्को कुना पुग्न सकिन्छ ।’

स्वच्छ सहर तथा स्वस्थ नागरिकका लागि महानगरलाई साइकल सिटीको रुपमा विकास गर्न खोजिएको उनले बताए । तेस्रो चरणको रुपमा महानगरले कोटेश्वर–बुल्खु सडक खण्डमा साइकल लेन बनाउन खोजेको छ । यो खण्डको डिजाइन बन्ने क्रममा छ । डिजाइन निर्माण भएसँगै साइकल लेन बनाउन आवश्यक रकमको टुंगो लाग्ने छ ।

महानगरले आर्थिक वर्ष २०७८/७९ बजेट तथा कार्यक्रम मार्फत कोटेश्वर-बल्खु खण्डमा बन्ने साइकल लेनका लागि बजेट विनियोजन मेयर महर्जनले बताए । यस्तै ललितपुर महानगरले काठमाडौं महानगरसँगको सहकार्यमा कुपन्डोलदेखि बुढानिलकण्ठसम्म साइकललेन बनाउन खोजेको छ । सो प्रस्ताव काठमाडौंका मेयरसँग राखेको उनले बताए ।

नेपाल साइकल सोसाइटीले मुलुकका विभिन्न सहरलाई साइकल सिटीको रुपमा विकास गर्ने योजना अनुरुप काम गरिरहेको छ । सोही योजना अनुरुप महानगरसँगको सहकार्यमा ललितपुरका विभिन्न सडक खण्डमा साइकल लेन निर्माण गरिएको सोसाइटीका उपाध्यक्ष समराज रानामगर बताउँछन् ।

‘धुलो धुँवाका कारण हाम्रो सहरको प्रदुषित भइसकेको छ, वातावरण जोगान पनि साइकलको आवश्यक भइसकेको छ, साइकल चालक ठूला सवारीसाधनको चेपुवामा पर्ने गरेका छन्, निश्चित साइकल लेन नहुँदा धेरै मानिस साइकलमा आकर्षित हुन सकेका छैनन्,’ रानामगरले क्लिकमाण्डूसँग भने ।

साइकल चढ्ने चहाना भएका मानिसलाई आकर्षित गर्न साइकल लेन विस्तार अभियान शुरु गरिएको उनको भनाइ छ ।

काठमाडौं उपत्यका विश्वकै प्रदुषित सहरमध्ये एक भइसकेको छ । ट्राफिक जाम पनि थेगिनसक्नु अवस्थामा पुगिसकेको छ । सार्वजनिक यातायातको तुलनामा निजी सवारीसाधनको संख्या बढ्दो छ । सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ । निजी सवारीको तुलनामा साइकल सस्तो र सहज हुन्छ । सडक पूर्वाधार निर्माण गर्न राज्यले वार्षिक खर्बौ रुपयाँ खर्च गरेको छ । ठूला सहरमा सडक विस्तारका लागि आवश्यक जमिनको पनि अभाव छ । मुआब्जा वितरण गरेर सडक विस्तार गर्न सम्भव पनि देखिदैन । त्यसको विकल्पमा सडकलाई साइकलमैत्री बनाउन सकिन्छ ।

डेडिकेटेड साइकल लेन निर्माण गर्ने हो भने साइकलप्रतिको आकर्षण बढ्ने उनले विचार व्यक्त गरे ।

‘डेडिकेटेड लेनमा अन्य सवारीसाधन गुड्न पाउँदैनन्, चालक निर्धक्क साइकल गुडाउन पाउँछन्, डेडिकेटेड लेन नहुँदा ठूला सवारीसाधनका चालकले साइकल चढ्नेलाई हेप्ने तथा पेल्ने गरेका छन्’, उनले भने, ‘सडक ठूला सवारीसाधनको मात्रै हैन । साइकल चढ्नेको पनि सडकमा समान अधिकार हुन्छ ।’


पुष्प दुलाल