अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्स र आन्तरिक उडानतर्फ बुध्द एयरले बाेके सबैभन्दा बढी यात्रु



काठमाडौं । मार्च महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ २१ वटा विमान कम्पनीले १ लाख २२ हजार ७०४ जना यात्रु उडान भरेका छन् । जसमध्ये ५५ लाख २३१ जना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन् भने ६७ हजार ४७३ जना यात्रु नेपाल भित्रिएका छन् ।

जसमध्ये सबैभन्दा बढी नेपाल एयरलाइन्सले यात्रु बोकेको छ । नेपाल एयरलाइन्सले मार्च महिनामा मात्रै २७ हजार ४५० जना यात्रु बोकेको छ भने कतार एयरलाइन्सले २५ हजार ५१५ र हिमालयन एयरलाइन्सले २० हजार ७८७ जना यात्रु बोकेको छ । मार्च महिनामा २ वटा कार्गो विमान नेपाल आएका छन् ।

यसबीचमा २२ वटा एयरलाइन्सले २ हजार ६१९.९३९ टन कार्गो सामान ओसारपसार गरेका छन् । जसमध्ये १ हजार २४८.८२७ केजी कार्गो नेपालबाट बाहिरिएको छ भने १ हजार ३६९.११२ टन केजी नेपाल भित्रिएको छ ।

आन्तरिक उडानतर्फ मार्च महिनामा ३ लाख ४६ हजार ४७१ जना यात्रुले यात्रा गरेका छन् ।

जसमा आन्तरिक उडानतर्फ सबैभन्दा बढी यात्रु बोक्नेमा बुध्द एयरलाइन्स छ । बुध्द एयरले कुल यात्रुमध्ये ५३.४४ प्रतिशत अर्थात् १ लाख ८५ हजार १५५ जना यात्रु ओसारपसार गरेको छ ।

त्यसैगरी दोस्रो स्थानमा यति एयरलाइन्स छ । यति एयरलाइन्सले मार्च महिनामा २५.३९ प्रतिशत अर्थात् ८७ हजार ९७० जना यात्रुलाई सेवा दिएको छ । त्यसैगरी श्री एयरलाइन्सले ५४ हजार २४९ जना यात्रुलाई सेवा दिएको छ ।

तर अन्तर्राष्ट्रिय उडानमा धेरै यात्रु बोक्नेमा सबैभन्दा अगाडि रहेको नेपाल एयरलाइन्स भने आन्तरिक उडानमा सबैभन्दा कमजोर देखिएको छ । नेपाल एयरलाइन्सले कुल यात्रु संख्यामध्ये ०.६३ प्रतिशत अर्थात् २ हजार १९८ मात्रै यात्रुलाई सेवा दिएको छ ।


क्लिकमान्डु