चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो



काठमाडौं । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ ।

काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भोटेचौर, जर्सिङपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले बताए ।

उनका अनुसार अहिले काभ्रेस्थली जाने सडकको निर्माण भइरहेको छ । चक्रपथ बाहिरका क्षत्रेमा बूढानीलकण्ठबाट डाडाँगाउँ, भङ्गाल र कपन क्षेत्रमा भइरहेको छ ।

‘यीमध्ये धेरै ठाउँमा नयाँ बनाउने नै काम भइरहेको छ,’ उनले भने ।

चालू आवमा नै बूढानीलकण्ठ सडकको पुनःस्थापनाको गरिने उनले बताए । यो सडकमा अहिले नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत गरिरहेको छ ।

‘प्राधिकरणले तार भूमिगत गरेर खाल्टा टालेपछि त्यहाँ निर्माणको प्रक्रिया अघि बढाइनेछ,’ उनले भने ।

गत आवमा काठमाडौँका मुख्य सडकमा निर्माण वा मर्मतको काम भएकामा चालू आवमा चक्रपथ बाहिर काम बढी भएको देख्न सकिन्छ । मुख्य सडकमा पनि गत आवमा बाँकी ठाउँमा ‘ओभर ले’ गरिने प्रमुख नेपालीले बताए । अहिले निर्माणको काम भइरहेको सडकमा दोहोरोपना नआयोस् भनेर अरु निकायसँग समन्वयमा काम गरिरहेको कार्यालयले जनाएको छ ।

सडक बनाएपछि खन्न नपरोस् भनेर अरु निकायसँगको समन्वयमा काम अघि बढाइएको हो ।

‘चक्रपथ बाहिर काम कम देखिने भए पनि बाहिरी क्षेत्रमा काम भइरहेको छ,’ उनले भने ।


पुष्प दुलाल