आयोजना सकिने टुंगो नलागेको रसुवागढी हाइड्रोपावरको सेयरमा यतिधेरै आकर्षण किन ?



काठमाडौं । कुनै समयको ब्लूचिप कम्पनी चिलिमेको सहायक कम्पनी रसुवागढी हाइड्रोपावरले रसुवामा निर्माण गरिरहेको १११ मेगावाट क्षमताको आयोजना कछुवा गतिमा अगाडि बढेको छ ।

निर्माण शुरु भएको ७ वर्ष पूरा भयो । आयोजना कहिले सकिन्छ भन्ने स्पष्ट जानकारी दिन न त चिलिमे जलविद्युत् कम्पनी तयार छ । न त सम्वद्ध आयोजना नै । न त नेपाल विद्युत् प्राधिरकण समेत केही भन्न सक्ने अवस्थामा छ ।

आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको भनिएको पनि डेढ वर्षजति भयो ।

पछिल्लो पटक कोरोनाका कारण चीन गएका कामदार आयोजनामा नआएपछि सबैभन्दा बढी मार परेको छ । आयोजनाको अन्तिम चरणको काम जारी छ । न्यून कामदारका कारण सोचेजति प्रगति हुन सकेको छैन ।

कामदार उपलब्ध भए एकाध महिनामा आयोजना सकिने अवस्थामा पुग्नेछ । तर, सबैभन्दा जटिल अवस्थामा भने प्रसारण लाइन निर्माण रहेको छ ।

आयोजनास्थलबाट चिलिमे अवसम्म प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । सो कामसमेत प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

चिलिमे हवदेखि त्रिशुली थ्री बी हवसम्मको प्रसारण लाइनको कामको हालत पनि उस्तै छ ।

निर्माण व्यवसायीले सोचेअनुसारको काम गरेको छैन । कहिले कोरोना, कहिले वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या त, कहिले अनेकन अन्य कारणले गर्दा आयोजना जटिलताको क्रममा फसेको छ ।

नेपाल विद्युत् प्राधिकरणको भनाईलाई पत्याउने हो भने अझै एक वर्ष काम सकिन लाग्छ । तर, सेयर बजारमा पछिल्ला दिनमा रसुवागढी जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको राम्रै आकर्षण छ ।

गत नोभेम्बर २३ देखि उकालो लाग्न थालेको सो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता रु ५०६ मा कारोबार भइरहेको छ । बिजुली नबलेको भएपनि कम्पनीको सेयरमा लगानीकर्ता राम्रैगरी आर्कषित भएका छन् ।]

कम्पनीको कूल ६ करोड १५ लाख ७८ हजार ९०० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ । यस्तै, कम्पनीको सेयरको कूल बजार पूँजीकरण समेत बढेर ३१ अर्ब १५ करोड ८९ लाख २३ हजार ४०० पुगेको छ । जलविद्युत् उपसमूह उचालिदा त्यसको सकारात्मक प्रभावमा रसुवागढीमा समेत परेको छ ।

चिलिमे कम्पनीको सहायक कम्पनी भएकाले पनि लगानीकर्ताको चासोमा सो कम्पनीको सेयर रहेको छ । तोकेअनुसार काम भएको भए आयोजनाको काम डेढ वर्ष पहिल्यै सकिनुपर्ने थियो ।

तर, कहिले भूकम्प, कहिले भारतको नाकाबन्दी, कहिले कामदारको अभाव त कहिले कोरोना कहरका कारण आयोजनाको गति असाध्यै धिमा रहेको छ ।

आयोजनाको कामका लागि २०७० पुस २१ गते चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनसँग सम्झौता भएको देखिन्छ । यस आधारमा हेर्दा ठेक्का सम्झौता भएकै ७ वर्ष ४ महिनाको हाराहारी पुगेको छ ।

जानकारहरुका अनुसार प्राधिकरण र चिलिमे कम्पनीले आवश्यक समन्वय नगर्दा आयोजना टुहुरो जस्तो बनेको छ । लकडाउन हटे पनि सरकारीस्तरबाटै कामदार तथा उपकरण ल्याउन आवश्यक पहल हुन नसक्दा औंलामा गन्न सकिने मान्छेले मात्रै काम गरिरहेको छ ।

तर, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भने २०७९ वैशाखमा आयोजना पूर्णरुपमा सम्पन्न भई बिजुली उत्पादन शुरु हुने कार्यतालिका तयार भएको बताएका छन् ।

अघिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिनाजस्तो आयोजना स्थल गएर कामको प्रगतिका बारेमा जानकारी लिने र समस्या समाधानका लागि सहजीकरण गर्ने गरेका थिए ।

सोही सहजीकरणका कारण आयोजनाले गति लिएको थियो । तर, कोरोना कहरपछि आयोजनाको गति असाध्यै धिमामात्रै भएन चिप्ले किराको हिँडाइजस्तै हुन पुगेको छ ।

आयोजनाको प्रसारण लाइन निर्माणमा असाध्यै लापरवाही देखिएको सम्वद्ध अधिकारी नै बताउँछन् ।

आयोजना स्थलबाट चिलिमे हव सवस्टेशनसम्मको कूल १० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको भौतिक प्रगतिमात्रै ४५ प्रतिशत भएको छ । कूल ३२ टावरमध्ये १३ वटाको मात्रै जग निर्माण भएको छ ।
कहिले टावर ठड्याउने, कहिले प्रसारण लाइन तान्ने भन्नेमा कुनै टुंगो छैन ।

सो प्रसारण लाइनको काम विगतदेखि नै हरेक आयोजनालाई समस्यामा पार्दै आएको मुडभरी एण्ड जोशी नामक ठेकेदार रहेको छ ।

यस्तै चिलिमे हवको काम समेत प्रभावकारी हुन सकेको छैन । सोही कारण बिजुली बल्ने अवस्था आएपनि प्रसारण लाइनको काम भने अगाडि नबढ्दा थप जटिलता आउने अवस्था देखिएको छ ।


पुष्प दुलाल