एकल बीमा पोलिसी ३ वर्षसम्म सरेण्डर गर्न नपाइने, ऋण दिन पनि थप कडाइ (परिपत्रसहित)



काठमाडौं । बीमा समितिले एकल बीमा पोलिसीमा हुँदै आएको विकृति रोकेको छ । १९ वटै जीवन बीमा कम्पनीहरुलाई आन्तरिक परिपत्र जारी गर्दै समितिले एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर नगर्न कडा निर्देशन दिएको हो ।

त्यतिमात्रै होइन, एकल बीमा पोलीसी धितो राखेर ३ वर्षसम्म कर्जा नदिन पनि समितिले निर्देशन दिएको छ ।

‘यो पत्र प्राप्त भएको मितिदेखि लागू हुनेगरी एकल बीमाशुल्क भुक्तानी हुनेगरी जारी भएका बीमा लेखहरु अन्तर्गत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात मात्र समर्पण मूल्य तथा बीमालेख धितोमा कर्जा प्रदान गर्ने व्यवस्था गर्नुहुन निर्णयअनुसार अनुरोध गरिन्छ,’ समितिले परिपत्रमार्फत् भनेको छ ।

बीमा कम्पनीहरुबीच बिजनेशको संख्या र आकार बढाउने चरम प्रतिस्पर्धा हुँदा एकल बीमा पोलिसीमा तीव्र प्रतिस्पर्धा गर्दै आएका थिए ।

यस्तो पोलिसी लिनेहरुले पोलिसी लिएको केही समयमै ऋण लिने र अर्को वर्ष सरेन्डर गर्ने विकृत्ति बढ्दा बीमा कम्पनीहरुको बिजनेश बढेको देखिए पनि भित्रभित्रै खोक्रो हुँदै आएका थिए । किनभने यो पोलिसी लिएर सरेन्डर गर्दा बीमित र बीमा कम्पनी दुबैलाई नोक्सानी हुने तर एजेन्टलाई भने राम्रो फाइदा हुँदै आएको थियो ।

समितिले गरेको अध्ययनमा पनि बीमा कम्पनीहरुले तोकेको भन्दा बढी एकल बीमा पोलिसी जारी भएको पाइएपछि कडाइ गर्नु परेको समितिका अधिकारीहरु बताउँछन् ।


पुष्प दुलाल