मोटरसाइकल तथा स्कुटर किन्ने योजनामा हुनुहुन्छ ? बाइक किन्दा लक्की ड्रमा गाडी पाइने



काठमाडौं । नयाँ वर्ष नजिकिँदै जाँदा सवारीसाधन बिक्रेताले उपभोक्तालाई आकर्षित गर्न अफर ल्याउन शुरु गरेका छन् । नयाँ वर्षमा सवारीसाधनको बिक्री बढ्ने गर्छ । उपभोक्तालाई आफ्नो सवारीसाधन प्रति आकर्षित गर्न बिक्रेता कम्पनीले नयाँ वर्ष अगावै अफरहरु ल्याउने गर्छन् । नव वर्ष २०७८ का लागि मोटरसाइकल र स्कुटर बिक्रेता कम्पनीले अफर योजना सार्वजनिक गरेका छ ।

हालसम्म ८ वटा मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीले अफरको घोषणा गरेका छन् । बजाज, सुजुकी, यामाहा, होण्डा, टीभीएस, बेनेली, हिरो र भेस्पा तथा अप्रिलियाले अफर सार्वजनिक गरिसकेका छन् । बिक्रेता कम्पनीहरुले नगद छुट, एक्सचेन्ज, एसेसरिज र फाइनान्स प्रदान गर्ने गरेका छन् ।

नव वर्षमा नयाँ सवारीसाधन खरिद गर्ने योजनामा उपभोक्ता हुन्छन् । नयाँ वर्ष सवारीसाधन बिक्रीका हिसावले उर्बर समय हो । अन्य समयको तुलनमा बिक्री धेरै हुने भएकाले उपभोक्तालाई आकर्षित गर्न विभिन्न अफर ल्याउने गरिन्छ । उपभोक्ता पनि यही समयमा बिक्रेताले अफर छुट दिने भएकाले नयाँ सवारीसाधन किन्ने उपयुक्त समयका रुपमा यसलाई लिन्छ ।

बजाज: नयाँ वर्ष २०७८ को अवसरमा बजाज मोटरसाइकल किन्दा १० हजार रुपैयाँ छुट पाइनेछ । बजाजले शून्य अफर ल्याएको छ । यस अन्तर्गत बजाजका मोटरसाइकल किन्न चाहने उपभोक्ताको सम्पूर्ण विवरण शोरुमहरुले भरिसके पश्चात उपभोक्तालाई एउटा कोड प्रदान गरिन्छ । सो कोडमार्फत उपभोक्तालाई जति धेरै शून्य जान्छ, उति नै रुपैयाँ छुट उपलब्ध हुनेछ ।

यस अन्तर्गत न्यूनतम १० हजारका साथै १ लाख र १० लाख रुपैयाँसम्म पर्नेछ ।

त्यसैगरी बजाजका मोटरसाइकल किन्दा शुरुको मूल्यको ५० प्रतिशत रकम बुझाए पछि बाँकी रकम १८ महिना सम्म तिर्न सकिन्छ । यसरी बाँकी रकममा कुनै पनि ब्याज लाग्ने छैन । यसरी शून्य प्रतिशत ब्याजमा बाइक किन्न सकिने यसै अन्तर्गतको अर्को फाइदा उपलब्ध हुनेछ ।

यसरी शून्यलाई आधार मानेर स्किम ल्याएकोले यसको नाम नै ‘बजाज शून्य अफर’ राखिएको कम्पनीको दाबी छ ।

सुजुकी: सुजुकीको मोटरसाइकल तथा स्कुटर किन्न चाहने उपभोक्ताले १० हजार रुपैयाँ नगद छुट पाउने छन् ।

नयाँ वर्ष बिग हर्ष नाम दिइएको सो अफर अन्तर्गत मोटरसाइकल किन्नका लागि फाइनान्स र एक्सचेन्ज सुविधा समेत उपलब्ध हुनेछ । कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ सुजुकी मोटरसाइकल वा स्कुटर साट्न सकिन्छ । देशभरका सुजुकी शोरुममा उपलब्ध हुने सो सुविधा लिनु पहिले मोटरसाइकल वा स्कुटर टेस्ट राइड गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

टीभीएस: टीभीएसले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘टीभीएस वा, वाह्, वाहह्’ उपभोक्ता योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’ अफर रहेको कम्पनीले जनाएको छ ।

यसका साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधिमा टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटर खरिद गर्ने उपभोक्तामध्ये एकजना भाग्यशाली उपभोक्तालाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० उपहारस्वरुप प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

यो योजना यतिमा मात्र सीमित नभएर ‘वा’ बाट ‘वाह्’ हुँदै ‘वाह्’सम्मको थप भव्य बनाउन योजनाको अन्त्यमा एकजना अति नै भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरुप स्ट्यान्डर्ड एमटी भर्सनको नयाँ प्रोटोन साँगा गाडी फेसबुक लाइभमार्फत प्राप्त गर्नेछन् ।

यामाहा: यामाहा नेपालले नयाँवर्ष २०७८ को लागि आफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँ वर्ष २०७८ योजना ल्याएको छ ।

नवउत्सवलाई ज्यादा रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २० लाख ७८ हाजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै स्क्य्राच कार्डमार्फत ग्राहकहरुले २ लाख ७ हजार ८ सय रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् ।

यस अनुसार मोटरसाइकल तथा स्कुटरहरु शून्य प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ईएमआई.सुविधाका साथ पाउन सकिन्छ ।

हिरो: हिरोले ‘नयाँ वर्ष हिरोको साथ, खाली हुन्न हात’ नामक स्किम ल्याएको छ, जसमा नगद छुट तथा शून्य प्रतिशत डाउन पेमेन्टको स्किम उपलब्ध छ ।

हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्दा उपभोक्ताले स्क्र्याच कार्डमार्फत १० हजार रुपैयाँसम्म छुट पाउन र लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । त्यस्तै हिरोका मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत डाउनपेमेन्टमा समेत खरिद गर्न सकिने छ । त्यस्तै एक्सचेन्ज समेत गर्न सकिने र यसका लागि तुरुन्तै सबै सुविधा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

मोटरसाइकल वा स्कुटर किनेपछि उपभोक्ताले सर्भिसिङ गर्दा इन्जिन आयलमा ३० प्रतिशत र स्पेयर पार्ट्समा ७ प्रतिशत छुट प्राप्त गर्नेछन् । यी वाहेक ग्राहकलाई निःशुल्क हेल्मेट र विभिन्न एसेसरिज समेत प्रदान गरिने छ ।

भेस्पा तथा अप्रिलिया: भेस्पा तथा अप्रिलिया नयाँ वर्षको धमाल योजना राखिएको स्किम अन्तर्गत ३ मध्ये आफूलाई मन लागेको कुनै १ विकल्प रोज्न सकिनेछ ।

स्किम अन्तर्गत कुनै पनि स्कुटरमा नगद ५ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । त्यसैगरी फाइनान्समार्फत स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि शून्य प्रतिशत ब्याजमा फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

यी वाहेक आफूसँग भएका कुनै पनि ब्रान्डका पुराना बाइक वा स्कुटरसँग भेस्पा अप्रिलियाका स्कुटर साट्न चाहनेका लागि थप १० हजार रुपैयाँ भ्यालुएसन हुनेछ ।
नयाँ स्कुटर किन्ने ग्राहकलाई हेलमेट र किरिङलगायतका एसेसरिज समेत उपलब्ध हुने बताइएको छ ।

बेनेली: नयाँ वर्ष २०७८ को अवसरमा बेनेली बाइक किन्दा क्यास डिस्काउन्ट पाइने भएको छ । बेनेली टीएनटी १५ र टीएनटी १५०आई खरिद गर्दा १५ हजार रुपैयाँसम्म नगद छुट पाइने छ ।

त्यसैगरी बेनेली ३०२एस खरिद गर्दा एजीभी हेलमेट डिस्काउन्ट भौचरको रुपमा १० हजार सम्म नगद छुट पाइने भएको छ ।

होण्डा: नयाँ वर्ष २०७८ को अवसरमा होन्डा बाइक वा स्कुटर किन्दा ५ हजार रुपैयाँ छुट पाइने भएको छ । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो अफर ल्याएको हो ।

नयाँ बाइक वा स्कुटर नगदमा किन्न चाहनेहरुका लागि ल्याइएको सो अफर फाइनान्स र एक्सचेन्ज गरेर खरिद गर्दा समेत प्राप्त गर्न सकिने छ ।

त्यसैगरी होन्डाले लकडाउन पश्चात लागू गरेको १ रुपैयाँ डाउन पेमेन्टलगायतका विभिन्न अफरलाई अहिले पनि निरन्तरता दिने भएको छ । यस अन्तर्गत होन्डाका बाइक तथा स्कुटर किन्दा शुरुमा १ रुपैयाँ मात्र डाउन पेमेन्ट बुझाए पुग्ने भएको छ । त्यसैगरी सो बाइक वा स्कुटरको मासिक किस्ता १ रुपैयाँ र ब्याज पनि १ प्रतिशत मात्र हुनेछ ।

यसका लागि होन्डाले विभिन्न प्रकारका योजना सार्वजनिक गरेको छ । पहिलो योजना अन्तर्गत मोटरसाइकल किन्न चाहने उपभोक्ताले १ रुपैयाँ डाउनपेमेन्ट गरेर बाँकी रकम बढीमा ३ बर्षसम्ममा तिर्न सकिने छ । कम्पनीको नियम अनुसार ठिक समयमा किस्ता बुझाउँदा यसमा १३ प्रतिशत ब्याजदर पर्नेछ ।

दोस्रो योजना अन्तर्गत एक रुपैयाँ मासिक किस्तामा होन्डा मोटरसाइकल तथा स्कुटर किन्न सकिने छ । यस अन्तर्गत चार किसिमको डाउन पेमेन्ट सुविधा उपलब्ध छ ।

यो योजनामा ४० प्रतिशत डाउन पेमेन्ट गर्दा पहिलो तीन महिनासम्म १ रुपैयाँ किस्ता तिर्नु पर्नेछ । त्यस पश्चात् बाँकी रकमको रेगुलर किस्ता बनाएर तिर्नु पर्ने हुन्छ । यसको ब्याजदर १६ प्रतिशत हुनेछ ।

त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गर्दा पहिलो ६ महिना सम्म १ रुपैयाँ किस्ता तिर्दा हुन्छ । ६ महिनापछि बल्ल बाँकी रकम किस्ताको रुपमा बुझाउनु पर्छ ।

त्यसैगरी ६० प्रतिशत डाउनपेमेन्ट गर्दा पहिलो ९ महिना र ७० प्रतिशत डाउनपेमेन्ट गर्दा पहिलो एक बर्ष १ रुपैयाँ मात्र किस्ता तिर्नु पर्छ । यी सबैमा १६ प्रतिशत ब्याजदर लाग्छ ।

तेस्रो योजना अन्तर्गत एक प्रतिशत ब्याजमा होन्डाका मोटरसाइकल तथा स्कुटर किन्न सकिन्छ । यो योजनमा ग्राहकले १ प्रतिशतमा ब्याज दरमा ऋण प्राप्त गर्छन् र यसको अवधि एक वर्ष हुन्छ । यसको अर्थ बाइक वा स्कुटर किन्नका लागि होन्डाले आफै ऋण उपलब्ध गराउँछ र सो ऋण एक वर्ष भित्र तिर्न सकिन्छ । यस योजनामा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकले ६० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

चौथो योजना अन्तर्गत आफूलाई जुन सहज हुन्छ, त्यही अप्सन ग्राहकले छनोट गर्न सक्छन् । यस अन्र्तगत ग्राहकले ३ वर्ष सम्मको कर्जा अवधि भएको ऋण वा २० प्रतिशत डाउनपेमेन्ट देखिको सुविधा लिन सक्छन् । नियमित रुपमा किस्ता तिर्दा यसमा १३ प्रतिशत ब्याज लाग्छ ।

यी सबै योजनामा बिमा वापत लाग्ने सबै खर्च र नामसारी गर्न लाग्ने रकम अग्रिम रुपमा ग्राहकले नै बुझाउन पर्छ ।


क्लिकमान्डु