फुटवेयरमा ६५ प्रतिशत बजार धानेको स्वदेशी उद्योगमा कच्चा पदार्थ नपाउँदा समस्या



काठमाडौं । बजारमा विभिन्न नाम तथा ब्रान्डका फुटवेयर (जुत्ता, चप्पल) पाइन्छन् । सामान्यतया बजारमा वस्तु तथा सेवाको आपूर्तिका लागि परनिर्भर रहेको नेपाल फुटवेयरमा भने आत्मनिर्भर हुन सक्ने भएका छन् ।

सामान्यतया बजारमा पाइने विभिन्न प्रकारका जुत्ता, चप्पल किनमेलमा सर्वसाधारण जाँदा व्यवसायीहरूले नेपाली ब्रान्ड बिरलै बिक्री गर्छन् ।

अधिकांश व्यवसायीले बजारमा थाइल्यान्ड, भारतलगायत अन्य देशबाट आयात गरेको भन्दै सर्वसाधारणहरूलाई बिक्री गर्दै आएका छन् । तर, वास्तवमा भन्ने हो भने बजारमा पाइने अधिकांश जुत्ता, चप्पल नेपाली उत्पादन रहेको नेपाली फुटवेयर उद्योगीहरू बताउँछन् ।

बजारमा सर्वसाधारणले लाउने अधिकांश जुत्ता, चप्पल स्वदेशी उत्पादन रहे पनि व्यापारीहरूले भने विदेशबाट आयात गरेको भन्दै बिक्री गर्दै आएका छन् ।

यसले गर्दा आम सर्वसाधारणहरूलाई गोल्डस्टारबाहेक सम्पूर्ण जुत्ता तथा अन्य ब्रान्डका चप्पल आयात हुँदै आएको उनीहरूको मानसिकता रहेको व्यवसायीहरूको भनाइ छ ।

नेपालमा उत्पादित जुत्ता, चप्पल नेपाली बजारमा मात्रै खपत नभएर छिमेकी राष्ट्रदेखि तेस्रो मुलुकमा पनि निर्यात हुँदै आएको छ । नेपालमा करिब १५ सयको हाराहारीमा जुत्ता, चप्पल उत्पादन गर्ने उद्योग छन् ।

उक्त उद्योगबाट वर्षेनी ३ करोड जुत्ता, चप्पल उत्पादन गर्ने क्षमता छ । जसमा उत्पादितमध्ये १ करोडभन्दा बढी जोडी जुत्ताचप्पल विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ ।

अधिकांश बजारमा पाइने जुत्ता चप्पल नेपालमै उत्पादन भए पनि व्यापारीहरूले भने विदेशबाट आयात गरेको भन्दै बिक्री गर्ने गर्दछ । यसले गर्दा नेपाली उद्योगीहरूलाई आफ्नो पहिचान दिन नसक्दा निकै चुनौतीको विषय बनेको उद्योगीहरूको भनाइ छ ।

देशभर भएका उद्योगीहरूबाट उत्पादन भएको जुत्ता चप्पलले आन्तरिक बजारमा ६५ प्रतिशतले ओगटेको नेपाल फुटवेयर उत्पादक संघका वरिष्ठ उपाध्यक्ष उत्तम अधिकारीले बताए ।

उनका अनुसार बजारमा ६५ प्रतिशत स्वदेशी उत्पादनले ओगटेको छ भने बाँकी ३५ प्रतिशत मात्रै आयात हुने गरेको बताए ।

‘जति पनि बजारमा जुत्ता, चप्पल पाइन्छ । सबै स्वदेशी उद्योगीहरूले उत्पादन गरेको जुत्ता, चप्पल हो,’ उनले भने, ‘बाँकी ३० प्रतिशत भने आयातित जुत्ता, चप्पलले ओगटेको छ ।’

यस क्षेत्रमा भएका विभिन्न समस्याका बाबजुद उद्योगीले उत्पादन गरी ६५ प्रतिशतसम्म बजार ओगटेको उनको भनाइ छ । साथै, नेपाली बजारबाट उत्पादित जुत्ता, चप्पल स्वदेशमा खपत मात्रै नभई करोडौंको जुत्ता, चप्पल निर्यात गर्दै आएको उनले बताए ।

कच्चा पदार्थको समस्या
स्वदेशी उद्योगले स्वदेशमा ६५ प्रतिशत बजार ओगटेको जुत्ता, चप्पल उद्योगमा सबैभन्दा बढी समस्या हो कच्चा पदार्थ । अधिकांश फुटवेयर उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थको लागि भने अन्य देशसँग निर्भर हुँदा निकै समस्या भएको उद्योगीहरू बताउँछन् ।

साथै, विदेशबाट कच्चा पदार्थ आयात गर्नका लागि पनि धेरै संघर्ष गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष अधिकारीको भनाइ छ ।

‘कहिले उद्योगलार्ई आवश्यक कच्चा पदार्थ समयमै आइपुग्दैन भने कहिले भन्सारमै विभिन्न बाधा अड्चन आउने गर्दछ । यसले गर्द उद्योगीहरूले विभिन्न समस्या भोग्दै उत्पादन गरिहेका छौं,’ उपाध्यक्ष अधिकारी भने । त्यस्तै, यस क्षेत्रमा प्रचुर सम्भावना हुँदा पनि उद्योगीहरूले सोचे अनुसार काम गर्न नसकेको उनको बुझाइ छ ।

‘जुत्ता तथा चप्पलका लागि आवश्यक ४२ प्रकारका कच्चा पदार्थमध्ये २५ प्रकारका कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने अवस्था छ,’ फुटवेयर उत्पादक संघका उपाध्यक्ष शम्भुप्रसाद तिमल्सिनाले भने, ‘कच्चा पदार्थको लागि विदेशमै निर्भर हुनुपर्ने हुँदा उद्योगीहरूले धेरै समस्या भेगिरहेको अवस्था छ ।’

उनका अनुसार सरकारले यस क्षेत्रमा केही सहज बनाएमा सजिलै आत्मनिर्भर हुन सक्ने वातावरण सिर्जना हुने बताए । सरकारले कच्चा पदार्थका लागि नेपालमै उद्योग सञ्चालन गरेमा नेपाली उद्योगीले पर्याप्तमा मात्रामा उत्पादन गरेर आत्मनिर्भर भई निर्यात गर्न सक्ने क्षमता रहेको उनको अनुमान छ ।

नेपालमा फेटवेयर उत्पादनका लागि कच्चा पदार्थ भारत र चीनबाट धेरै परिमाणमा आयात हुने गर्दछ । साथै, सोल, फेब्रिक, रबरलगायत सम्पूर्ण आयात गर्नुपर्ने बाध्यता रहेकाले साना–साना उद्योगीमा झन बढी कठिनाइ रहेको उनको भनाइ छ ।

अधिकांश कामदार भारतीय
नेपालमा करिब १५ सय उद्योगबाट करिब ६० हजार व्यक्तिले रोजगारी पाएका छन् । तर, ती रोजगारी पाएका अधिकांश कामदार विदेशी रहेको संघका उपाध्यक्ष तिमल्सिना बताउँछन् ।

‘हाल नेपालमा करिब ९० प्रतिशत भारतीय कामदार छन् भने १० प्रतिशत मात्रै नेपाली कामदार उद्योगमा आबद्ध छन्,’ उनले भने, ‘नेपालको सबै युवाहरू खाडी मुलुकमा पलायन छन् । यसले गर्दा भारतीय कामदारहरूबाट उद्योग चलायमान बनाउनुपर्ने बाध्यता रहेको छ ।’

यस्तै, कोरोनाले गर्दा यस क्षेत्रमा निकै प्रभाव परेको उद्योगीहरूको भनाइ छ ।

‘कोरोनाको समयमा नेपाली कामदार भएका केही कम्पनीहरु चलेका थिए भने भारतीय नागरिक भएका अधिकांश कम्पनी बन्द अवस्थामा थिए । साथै, कतिपय उद्योगी सञ्चालन गर्न नसकेर बन्द पनि भएको छ,’ तिमल्सिनाले गुनासो पोखे ।
कोरोनाले गर्दा करिब ९ महिना बन्द भएको उद्योगहरू पछिल्ला दिनहरूमा विस्तारै चलायमान हुन थालेको उनको भनाइ छ ।

रू हजारमा 

आठ महिनामा ६६ करोडको निर्यात
फुटवेयर उत्पादनका लागि आवश्यक सम्पूर्ण कच्चा पदार्थ विदेशबाट आयात गरेर उत्पादन गरेको उद्योगीहरूले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ६६ करोड ८१ लाख १२ हजार रुपैयाँ बराबरको फुटवेयर निर्यात गरेका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवको ८ महिनाको अविधमा सो रकमको फुटवेयर निर्यात भएको छ ।
जसमा गत वर्षको तुलनामा ७.५० प्रतिशतले निर्यात घटेको छ । गत वर्ष सोही अवधिमा नेपालले ७२ करोड २२ लाख ९२ हजार रुपैयाँको फुटवेयर निर्यात गरेको थियो । त्यस्तै सन् २०१६ मा उल्लेखनिय निर्यात गर्दै आएको फुटवेयर निरन्तर ओरोलो तथ्याङ्कले देखाउँदछ ।

नेपालमा उत्पादन भएको फुटवेयर भारत, डेनमार्क, अष्ट्रेलिया, स्वीटजरल्यान्ड, बहराइन, भुटान, क्यानाडा, चीन, अमेरिका र मलेसियालगायत अन्य देशमा निर्यात हुँदै आएको छ । साथै, बंगलादेशतर्फ पनि बिस्तारै निर्यात गर्ने प्रक्रियामा रहेको वरिष्ठ उपाध्यक्ष अधिकारीको भनाइ छ ।


क्लिकमान्डु