मार्च महिनामा आएर १५ हजार विदेशी



काठमाडौं । कोरोना महामारीका कारण थलिएको पर्यटन अझै पनि तंग्रिने सकेको छैन । कैयन होटल तथा रेष्टुराँहरु अझै बन्द छन् भने यस क्षेत्रबाट कैयनले जागिर गुमाउनु परेको अवस्था छ ।

तर कोरोना महामारी दोस्रो लहर शुरु हुँदै गर्दा विदेशी पर्यटकहरु बिस्तारै नेपाल आउन थालेका छन् ।

सन् २०२० मा २० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिइए पनि कोरोना महामारीका कारण त्यो पूरा हुन सकेको थिएन । फलस्वरुप नेपाल भ्रमण वर्ष नै स्थगित गर्नु पर्ने अवस्था आयो ।

तर सन् २०२१ मा भने वातावरण सहज भए विदेशी पर्यटक नेपाल आउन चाहेको संकेत मिलेको छ । हाल नेपालमा विदेशी पर्यटकका लागि क्यारेन्टिन अनिवार्य गरिएको छ र कोरोना परीक्षणमा नेगेटिभ नआउँदासम्म क्वारेन्टि नै बस्नुपर्ने अवस्था छ ।

यद्यपि सरकारले भिसा नीतिलाई खुकुलो बनाउँदै विदेशी नागरिकलाई त्रिभुवन विमानस्थलमै अनअराइभल भिसा दिने नीति समेत लिएको छ ।

यसै क्रममा अहिले छिमेकी मुलुक भारतलगायत विभिन्न देशमा कोरोनाको नयाँ प्रकार बढ्दै जाँदा त्यसको असर नेपालमा पनि देखिने निश्चित छ ।

अध्यागमन विभागका अनुसार मार्च महिनामा १४ हजार ९७७ जना विदेशी पर्यटक नेपाल आएका छन् । जुन अघिल्ला २ महिनाको तुलनामा बढी हो ।

फेब्रुअरी महिनामा नेपालमा जम्मा ९ हजार ९४६ जना र जनवरी महिनामा ८ हजार ८७४ जना विदेशी नेपाल आएका थिए । अघिल्ल २ महिनाको तथ्यांक हेर्दा नेपालमा विदेशी आउने क्रम बढेको देखिएको छ ।

सरकारले विभिन्न हिमाल आरोहणका लागि अनुमति दिन थालेसँगै पर्यटकको संख्या बढेको हुन सक्ने पर्यटन विभागको अनुमान छ । विभागका अनुसार शुक्रबारसम्ममा २१७ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । जसमध्ये अधिकांश विदेशी छन् ।

सगरमाथा आरोहणका लाग मात्रै १३८ जनाले अनुमति लिएका छन् ।


क्लिकमान्डु