१ अर्ब ७९ करोड रुपैयाँ खर्च गरेर आयल निगमले बबरमहलमा कर्पोरेट भवन बनाउने, यस्तो छ स्केच



काठमाडौं । नेपाल आयल निगमले १ अर्ब ७९ रुपैयाँमा नयाँ कर्पोरेट भवन बनाउने छ ।

हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो ।

भूकम्पबाट क्षति भएको भवन भत्काएर नयाँ बनाउन लागिएको निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘निगमको भवन पुरानो भएको र भूकम्पले पनि क्षति गराएको हुँदा त्यसलाई भत्याएर नयाँ बनाउन लागिएको हो,’पौडेलले क्लिकमाण्डूसँग भने ।

नयाँ बन्ने कार्यालय २ तल्लाको अन्डरग्राउन्ड पार्किङ हुने छ भने १० तलाको भवन हुने छ ।

जमीनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन हुने र छ तलाको टावर हुनेछ ।

नयाँ बन्ने कार्यालय भवनको कोठा अन्तरराष्ट्रिय मापदण्डअनुसार रहने निगमले जनाएको छ । भवनमा लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तरराष्ट्रिय मापदण्डअनुसार रहनेछन् ।

बबरमहलमा नयाँ भवन बनाउने भएपछि आयल निगमले आफ्नो कार्यालय टेकुमा सार्न लागेको छ । भवन नबन्दासम्म निगमको मुख्यालय टेकुमा सर्ने छ ।

२०७२ सालमा गएको भूकम्पले आयल निगमको केन्द्रिय कार्यालयलाई क्षती गरेको थियो । भूकम्प गएको ५ वर्षपछि निगमले नयाँ कार्यालय भवन बनाउन लागेको हो ।

निगमले भवन बनाउनको लागि बोलपत्र समेत आह्वान गरिसकेको छ ।


क्लिकमान्डु