राष्ट्र बैंकले २ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राख्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ । त्यसका लागि बैंकले बैंक तथा वित्त कम्पनीलाई आवेदन दिन आह्वान गरेको छ ।
केन्द्रीय बैंकले लगानी सम्बन्धी सूचना जारी गर्दै १ अर्ब ९३ करोड रुपैयाँ एक वर्षे मुद्दति निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।
संस्थागत मुद्दति निक्षेपमा २०७८ बैशाख २ गतेदेखि ०७९ बैशाख १ गतेसम्म सो रकम राख्न राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई गोप्य शिलबन्दीमा दरभाउपत्र (ब्याजदर) पेश गर्न आह्वान गरेको छ ।
सूचना अनुसार वाणिज्य बैंकलाई १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, विकास बैंकहरुलाई २९ करोड ४ लाख रुपैयाँ र वित्त कम्पनीहरुलाई ९ करोड ६८ लाख रुपैयाँ बराबरको प्रस्ताव पेश गर्न भनिएको छ । तोकिएका बैंक तथा वित्त कम्पनीहरुले ०७७ चैत १८ गते अपरान्ह २ बजेसम्म दरभाउ पेश गरिसक्नु पर्ने छ ।
प्रस्ताव पेश गर्नका लागि संस्था संचालनमा आएको २ वर्ष पुरा भएको, तोकिएको पुँजी कायम भएको, एनपीए ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति २० प्रतिशत बढी भएको लगायत शर्त तोकिएको छ ।