अब यी मापदण्ड पूरा गरेर मात्रै पर्यटक आउन पाउने, अनअराइभल भिसा पनि पाइने
काठमाडौं । सरकारले विदेशी पर्यटकका लागि नेपाल आउनका लागि मापदण्ड तयार पारेको छ । जसमा पर्यटकले नेपाल आउनु अघि ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर भएको प्रमाणपत्रका साथै नेपाल आएपछि पुनः परीक्षण गरी नेगेटिभ नआउँदासम्म क्वारेन्टिन बस्नुपर्नेछ । र, यो शुल्क पर्यटक आफैले बेहोर्नु पर्नेछ ।
नेपालमा यात्रा गर्दा उक्त अवधिभरका लागि यात्रा बीमा पनि अनिवार्य गरिएको छ ।
पर्यटकीय गतिविधिका लागि नेपाल आउन चाहने पर्यटकले नेपालमा रहेको पर्यटनसँग सम्बन्धित कुनै एजेक्सनीसँग समन्वय गरी पर्यटनसम्बन्धी कार्यक्रम निश्चित गरेपछि सम्बन्धित एजेन्सीले पर्वतारोहणका लागि पर्यटन विभाग र अन्य पर्यटकीय गतिविधिका लागि नेपाल पर्यटन बोर्डमा अनुरोध गर्नेछ ।
स्वास्थ्य सम्बन्धि सेवा प्राप्त गर्न चाहने पर्यटकले कुनै स्वास्थ्य संस्थासँग समन्वय गरी कार्यक्रम निश्चित गरेपछि सम्बन्धित संस्थाले नेपाल पर्यटन बोर्डमा अनुरोध गर्नेछ ।
सम्बन्धित एजेन्सी वा संस्थाको अनुरोध पश्चात विभाग वा बोर्डले परराष्ट्र मन्त्रालय र अध्यागमन विभागमा सिफारिस गर्नेछ । सम्बन्धित एजेन्सी वा संस्थाले यस्तो सिफारिसको जानकारी नेपाल आउन चाहने पर्यटकलाई समेत गराउनुपर्नेछ ।