अन्तर्राष्ट्रिय सीमा अझ कडाई गर्ने सरकारको निर्णय, केही नाका बन्द गर्ने संकेत



काठमाडौं । भारत, बेलायत, जर्मनी र फ्रान्सलगायतका देशमा कोरोना महामारी फेरि बढ्न थालेसँगै सरकारले अन्तर्राष्ट्रिय सीमामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

सरकारले छिमेकी मुलुक भारतबाट नेपाल आगमन गर्ने यात्रुहरुको सिसिएमसीले निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने समेत निर्णय गरेको छ ।

त्यसैगरी रात्रिकालिन व्यवसाय राति ९ बजेपछि बन्द गर्नुपर्ने र विद्यालयहरुमा कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना भए वा नभएको अनुगमन गर्ने समेत निर्णय गरेको छ ।

त्यसका साथै हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमा नाकाहरुलाई कोरोना संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्न र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ पनि गृहमन्त्रालय आवश्यक गृहकार्य गर्ने समेत निर्णय गरेको छ ।

त्यसका साथै नेपाल र भारतबीचका सीमा नाकामा मानिस आउँदा यसपूर्व अपनाइएका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्वरुपमा पालना गर्न लगाउने, शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्ने, परीक्षणमा कोरोना संक्रमण भएको देखिएमा छुट्टै सवारी साधनको प्रयोग गरी होम आइसोलेसनमा पुर्याउने व्यवस्था मिलाउन डिसिसिएमसीलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।

साथै सरकारले मानिसहरुको भिडभाड हुने गरी कार्यक्रम सञ्चालन नगर्ने, गर्नै परेमा कार्यक्रम सीमित संख्यामा मानिस जम्मा हुने र स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराउनुका साथै बैठक, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमबाट गराउने समेत सरकारले निर्देशन दिएको छ ।


क्लिकमान्डु