लेभनिङ ४ इलेक्ट्रिक स्कुटर बजारमा, मूल्य १ लाख ८५ हजारदेखि ३ लाख रुपैयाँसम्म



काठमाडौं । लेभनिङ ब्राण्डको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ । लेभनीङ ब्राण्डको आधिकारिक वितरक जम्बो ईको भेहिकले ४ मोडलका स्कुटर बजारमा भित्र्याएको छ । लेभनिङको एक्सवान, एसफाइभ, डीओसीक्स र एम ट्वेन्टी मोडलमा इलेक्ट्रीक स्कुटर बजारमा ल्याइएको छ ।

जम्बो ईको भेहिकलका निर्देशक राजन पोखरेलले सस्तो मुल्यमा गुणस्तरिय स्कुटर उपभोक्तालाई चढ्ने मौका प्रदान गर्न लेभनीङ ब्राण्ड नेपाल भित्र्याएको बताए ।

‘सुरुवाती दिनमा केही कम्पनी गुणस्तरहिन इलेक्ट्रिक स्कुटर बजारमा बेच्ने गरेका थिए, यसले उपभोक्तामा इलेक्ट्रिक स्कुटरप्रति गलत धारणा बसेको छ । लेभनीङका इलेक्ट्रिक स्कुटर बलियो र आकर्षक छ,’ लेभलिङ ब्राण्डका स्कुटरले उपभोक्तामा रहेको नकारात्मक धारणा चिर्ने पोखरेलको विश्वास छ ।

अर्का निर्देशक नारायण गौतमले लेभनीङ चीनकै उत्कृष्ट इलेक्ट्रिक स्कुटर भएको बताए । ‘चीनका ३५, ४० वटा इलेक्ट्रिक स्कुटर उद्योग भ्रमण गरेर त्यहाँको सबैभन्दा राम्रो ब्राण्ड नेपाल भित्र्याएको गौतमले दाबी गरे ।

‘लेभलिङ स्कुटर अन्तर्राष्ट्रियस्तरको छ’, गौतमले भने, ‘यो यूरोपमा सबैभन्दा धेरै माग भएको स्कुटर हो ।’

नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरको सवारीको अनुभव प्रदान गर्न लेभलिङ भित्र्याएको बताए ।

१० प्रतिशतको पहुँचमा सवारी

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण दुलालले अबको भविष्य विद्युतीय सवारीकै रहेको बताए ।

‘नेपाली सडकमा ४० लाखभन्दा धेरै सवारी गुडिरहेका छन्, यसले २० लाखभन्दा धेरैलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोजगारी प्रदान गरेको छ’, दुलालले भने, ‘राज्यलाई सबैभन्दा धेरै राजश्व अटोमोवाइ क्षेत्रबाट प्राप्त भइरहेको छ ।’

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्माओलीले विद्युतीय सवारी एसेम्बलिङ गर्ने उद्योगलाई प्रोत्साहन गर्ने बताउनु भएको पनि दुलालले बताए । यसले पनि विद्युतीय सवारीको प्रवद्र्धनमा सहयोग पुग्ने उनको अपेक्षा छ ।

‘अटोमोवाइल्सको व्यावसायीक क्षेत्र ठूलो छ । १० प्रतिशत जनताले मात्र सवारीसाधन चढ्छन्’, दुलालले भने, ‘९० प्रतिशत बजार खाली छ । सवारीसाधन खरिद गर्न समस्या छ ।’

नाडाले सवारीसाधनको डाउन पेमेन्ट घटाउन सरकारसँग माग गरेको छ । निजी सवारीसाधन धेरै भयो भने ट्राफिक व्यवस्थापन जटिल बन्छ भनेर डाउनपेमेन्ट घटाउन सरकार तयार छैन ।

सस्तो र सुलभ दरमा सवारीसधान चढ्न पाउने जनताको अधिकार हो । बाटो चौडा, फ्लाईओभर, अण्डरपास निर्माण गरेर भए पनि सबैले सवारी चढ्ने वातावरण निर्माण गर्नुपर्छ भन्ने माग सरकारसँग नाडाको राखेको उनले बताए ।

विद्युतीय सवारी बिक्री तथा उत्पादन गर्न चहाने व्यवसायीलाई सहयोग गर्न नाडा तयार गरेको पनि उनले जिकिर गरे ।

विशेषता र मूल्य

लेभलीङको एक्सवान र एसफाइभ मोडलमा ३००० वाटको बोश मोटर जडान गरिएको छ । डीओसीक्स मोडलमा २००० वाट र एमट्वेन्टी मोडलमा १५०० वाटको मोटर जडान गरिएको छ । यो मोट रमा कन्र्भसन इफेन्सी र लन्ग लाइफ वर्किङ क्यापासिटी, हाई स्लोप एविलिटी छ । यी स्कुटरमा लिथिएम आयन पोलिमार ई७ सिरिजको पछिल्लो टेक्नोलोजीको ३ घण्टा मा फुल चार्ज गर्न सकिने सामसङ ब्याट्री जडान गरिएको छ । यी स्कुटरमा डुअल ब्याट्री अप्सन रहेकाले १६० किलोमिटरसम्मको यात्रा तय गर्न सकिन्छ ।

स्कुटरको फिचरको कुरा गर्दा इलइडी हेडलाईट, रियर एण्ड फ्रन्ट डिक्स ब्रेक, आईपी ६५ वाटरफ्रुफिङ, ब्ल्युटुथ, कि लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम, फेलुअर इन्डिकेसन सिस्टम (स्कुुटरको मोटर, ब्रेक र स्पीड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउँछ) लगायतका अत्याधुनिक विशेषता छन् ।

लेभलिङ एक्सवान स्कुटरको मूल्य २ लाख ६० हजार रुपैयाँ, एसफाइभको २ लाख ९९ हजार ९९९ रुपैयाँ, डीओसीक्सको २ लाख ३५ हजार रुपैयाँ र एम ट्वान्टीको मूल्य १ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

यी स्कुटर १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुड्ने कम्पनीको दाबी छ ।

शोरुम काठमाडौं, चितवन, हेटौंडा र बुटवलमा

शुरुवाती चरणमा कम्पनीले काठमाडौं, चितवन, हेटौंडा, र बुटवलमा शोरुम विस्तार गरेको छ । छिट्टै देशैभरी नेटवर्क बिस्तार गर्ने कम्पनीको तयारी छ ।
कम्पनीले बिक्री पछिको सेवाको लागि स्मार्ट होम सेवा एप्लिकेसनबाट उपभोक्तालाई १ घण्टाभित्र सर्भिस दिने तयारी गरेको छ । जसले इलेक्ट्रिक सवारीको बजारीकरणमा सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।


पुष्प दुलाल