होटल र रेष्टुराँलाई विद्युत् डिमाण्ड शुल्क छुट दिने सरकारको निर्णय



फाइल तस्बिर

काठमाडौं । सरकारले कोरोना महामारीका कारण प्रभावित होटल तथा रेष्टुराँलाई विद्युत् डिमाण्ड शुल्कमा छुट दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले आइतबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै होटल तथा रेष्टुराँलाई ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विद्युत् डिमाण्ड शुल्कमा छुट दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार चैत ९ गतेदेखि भदौ मसान्तसम्म होटल तथा रेष्टुराँले शतप्रतिशत र असोज १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

होटल तथा रेष्टुराँहरुले यस्तो सुविधा लिनका लागि होटल तथा रेष्टुराँका रुपमा उद्योगका रुपमा दर्ता भएको र नियमित नवीकरण गरेको हुनुपर्नेछ ।

कोरोना महामारीका कारण मुलुकमा लकडाउन भएयता अधिकांश होटलहरु बन्द छन् । होटल तथा रेष्टुराँका प्रतिनिधि संस्थाले विद्युत् डिमाण्ड शुल्कको छुटको माग गर्दै आएका थिए ।


क्लिकमान्डु