लक्ष्यको २६.५७ प्रतिशतमात्र ऋण सरकारको ढुकुटीमा जम्मा



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक र वाह्य गरी ५ खर्ब २० अर्ब ५० करोड रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको थियो । तर, चालु आवको ८ महिनासम्ममा लक्ष्यको २६.५७ प्रतिशतमात्र आन्तरिक र वाह्य सरकारको ढुकुटीमा जम्मा भएको छ ।

चालु आवका लागि सरकारले १५ खर्ब ३२ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको थियो । सरकारले ल्याएको बजेटको स्रोत भनेको अन्तरिक र वाह्य ऋण सहायता र राजश्व संकलन हो । जसअनुसार बजेटको स्रोतमा आन्तरिक ऋण २ खर्ब २५ अर्ब रुपैयाँ र २ खर्ब ९५ अर्ब रुपैयाँ ५० करोड रुपैयाँ वाह्य ऋण उठाउने लक्ष्य राखिएको थियो ।

जसमध्ये गत माघ मसान्तसम्म १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ वैदेशीक ऋण तथा सहायताको प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । वैदेशीक ऋण तथा सहायताको प्रतिवद्धता मध्ये ९०.३ प्रतिशत अर्थात् १ खर्ब ६९ अर्ब २५ करोड रुपैयाँ वैदेशिक ऋण र ९.७ प्रतिशत वैदेशिक अनुदान सहायता हो ।

सो अवधिमा सरकारले राष्ट्र बैंकमार्फत् १ खर्ब १२ अर्ब ९२ करोड रुपैयाँ अन्तरिक ऋण उठाएको छ । जसमा ९० अर्ब विकास ऋणपत्र, २ खर्ब ५० करोड ट्रजरी बिल, २ अर्ब नागरिक बचतपत्र, १ करोड ५० लाख वैदेशिक रोजगार बचतपत्रमार्फत् सरकारले ऋण उठाएको हो ।

हालसम्म सरकारले २ खर्ब ३३ अर्ब४९ करोड रुपैयाँ ट्रेजरी बिल, ४ खर्ब ७३ अर्ब ९४ करोड रुपैयाँ विकास ऋणपत्र, ९ अर्ब ६४ करोड नागरिक बचतपत्र र ४२ करोड रुपैयाँ वैदेशिक रोजार बचतपत्र गरी ७ खर्ब १७ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोख्ररेलले जानकारी दिए ।

प्राप्त वैदेशिक ऋणको प्रतिवद्धतामध्ये हालसम्म सरकारको ढुकुटीमा ०.१९ प्रतिशतमात्र जम्मा भएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द पौडेलले बताए ।

‘आन्तरिक ऋणमा १ खर्ब १२ अर्ब रुपैयाँ नै टे«जरीमा आइसकेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘वैदेशिक ऋणमा भने हालसम्म २५ अर्ब ३८ करोड रुपैयाँमात्र जम्मा भएको छ ।’

वैदेशिक अनुदान सहायतामा १८ अर्ब १८ करोड रुपैयाँको प्रतिवद्धता प्राप्त भएको थियो । जसको ४१.२५ प्रतिशत अर्थात् ७ अर्ब ५० करोड रुपैयाँ सरकारले ढुकुटीमा जम्मा भइसकोे उनले जानकारी दिए ।

चालु आव समाप्त हुन आव ३ महिनामात्र बाँकी छ । सो अवधिभित्रमा प्रतिवद्धता वापतको रकम प्राप्त हुने अनुमान उनको छ ।

‘यस्ता ऋण सहयोगको प्रतिवद्धता प्रायः परियोजना तोकिएर प्राप्त हुन्छ, प्रतिवद्धता वापतको रकम परियोजनामा खर्च भइसकेपछि सोको एकमुस्ट विवरण र बिल पठाएपछि मात्र रकम प्राप्त हुन्छ,’ उनले थपे, ‘विकास निमार्णका कार्यले गति लिइरहेको छ, अब चालु आवको अन्त्यमा प्रतिवद्धता वापतको ऋण सहयोग सबै प्राप्त हुने सम्भावना छ ।’

प्रतिवद्धता प्राप्त भएपनि प्रायः विदेशी ऋण सहयोगीदाताहरुले परियोजना पुरा भएपछि अथवा खर्च भएर बिल पेश गरेपछि मात्र रकम पठाउने गरेको उनले जानकारी दिए ।


पुष्प दुलाल