खतिवडाको श्वेतपत्रमा छलफल गर्न सांसदको माग



काठमाडौं । विभिन्न पार्टीका नेताहरुले सरकार समक्ष श्वेतपत्र सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनीहरुले सरकारले श्वेतपत्र सार्वजनिक गर्नुपर्ने बताए ।

सभामा बोल्दै नेपाली कांग्रेसका सांसद तथा प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले ३ वर्षअघि श्वेतपत्र जारी गरेर आर्थिक अवस्था सबै खराब रहेको बताएको भन्दै अहिले के कति प्रगति भयो त्यसका लागि पनि श्वेतपत्र जारी गर्न माग गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले विकास निर्माणको काम निकै धेरै गरेको र यसबाट विश्व चकित भएको भन्दै दावी गरिरहेका बेलामा सांसद खाँडले पुँजीगत खर्च कम हुँदै जाने विकास निर्माणको काम कसरी बढी भयो भन्दै प्रश्न गरेका छन् ।

‘सरकार निर्माण बेलामा सरकारले श्वेतपत्र जारी गरी सबै आर्थिक सूचकहरु खराब भएको भ्रम फैलायो, तर अहिले अवस्था त्योभन्दा पनि अझ बढी खराब रहेको छ, त्यसैले सरकारले श्वेतपत्र जारी गर्नुपर्छ’ उनले भने ।

उनले मेलम्चीको शुरुवात गर्ने कृष्णप्रसाद भट्टराई र वृद्धभत्ताको शुरुवात गर्ने भरतमोहन अधिकारीलाई नसम्झन नचाहने र सबै काम आफूले मात्रै गरेको भन्दै सरकारले भ्रम फैलाएको आरोप लगाए ।

उनले श्वेतपत्रमा यथार्थ विवरण हुने भए पनि यथार्थमा अगाडि अ थपेर अयथार्थ बनाएर भ्रम फैलाएको आरोप लगाए ।
त्यसैगरी माओवादी केन्द्रकी सांसद फम्फा भुसालले पनि सरकारले श्वेत पत्र जारी गरी यथार्थ विवरण सार्वजनिक गर्न माग गरिन् ।


क्लिकमान्डु