१४ करोड कर नतिर्ने ८६ कम्पनीलाई आन्तरिक राजस्व कार्यालयको १५ दिने अल्टिमेटम



काठमाडौं । आन्तरिक राजस्व कार्यालयले समयमै कर नतिर्ने ८६ कम्पनीलाई १५ दिनभित्र कर तिर्न सूचना जारी गरेको छ ।

आन्तरिक राजश्व कार्यालय महारजगञ्जले सूचना जारी गर्दै मूल्य अभिवृद्धि करतर्फ कर दाखिला वक्यौता देखिएका करदाता कम्पनीलाई १५ दिनभित्र कर तिर्न अल्टिमेटम दिएको हो ।

कार्यालयका अनुसार मूल्य अभिवृद्धि करतर्फ ८६ वटा कम्पनीले १४ करोड ३ लाख रुपैयाँ नतिरेको भन्दै सूचना जारी गरेको छ । कार्यलयले २०७७ साल चैत ३ गते कार्यालयको इन्टिग्रेटेड ट्याक्स सिस्टममा रहेका आयकर तथा मूल्य अभिवृद्धि करको वक्यौता अभिलेख बमोजिम कार्यालय अन्तर्गतका आयकर तथा मूल्य अभिवृद्धि कर तिर्न बाँकी रहेका करदाताहरुलाई समयमै कर तिर्न भनेको हो ।

साथै, करदाताबाट वक्यौता रकम असुल उपर गर्न कारोबार स्थल पत्ता लागेका करदाताहरुको कारोबार स्थलको संकलन भ्रमण, कार्यालयको अभिलेखमा उपलब्ध भएका टेलिफोन तथा मोबाइल नम्बरमा पटक–पटक टेलिफोन सम्पर्क र स्थायी ठेगानामा हुलाक तथा इमेलमार्फत् पत्राचार गर्दा समेत तिर्न बुझाउन बाँकी रहेकोले १५ दिनभित्र दाखिला गर्न आग्रह गरेको छ ।

अन्यथा कार्यालयले कर नतिरेका आयकर ऐन, २०५८ को दफा १०३ देखि दफा १११ र मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ बमोजिम वक्यौता रकम असुल उपर गरिने जनाएको छ ।

जसमा विभिन्न कम्पनीले कम्तीमा ५ लाख १४ हजारदेखि ९ लाख ३६ हजार रकम तिर्न बाँकी रहेको सूचनामा उल्लेख छ ।

त्यसैगरी, आयकरतर्फ आयकर वक्यौता देखिएका विभिन्न १८ वटा करदातालाई पनि समयमै कर तिर्न आग्रह गरेको छ ।

जसमा आयकरतर्फ आयरकर नतिरेका १८ कम्पनीको ३ करोड ६३ लाख ७८ हजार रुपैयाँ समयमै कर तिर्न आग्रह गरेको छ ।


क्लिकमान्डु