नेपाल-भारतबीच यातायात सञ्चालन गर्न सिसीएमसीको मन्त्रिपरिषदसमक्ष सिफारिस, पीसीआर रिपोर्ट आवश्यक



काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)ले नेपाल र भारतबीचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी) को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नका लागि मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल भारत यातायताका १३ वटा रुटबाट पूर्ववतरुपमा यातायता सञ्चालनका निम्ति मन्त्रिपरिषदलाई सिफारिस गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताए ।

यात्रुहरुले पूर्णरुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अघिको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।

गत चैत्र ११ गतेदेखि नेपालका कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ ।

यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिकरुपमा आवतजावत भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनका लागि पहल गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताए ।


क्लिकमान्डु