यति एयरलाइन्सले आगामी साता बनारसमा ‘प्रुभिङ फ्लाइट’ गर्ने, इस्ट र साउथ एसियामा उडानको योजना
काठमाडौं । यति एयरलाइन्सले आगामी साता काठमाडौं–बनारसमा प्रभिङ फ्लाइट गर्ने भएको छ । यसका लागि यति एयरलाइन्सले गत सोमबार त्रिभुवन विमानस्थलमा पूर्वअभ्यास समेत गरिसकेको छ ।
यति एयरलाइन्सका उडान सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार कम्पनीले इस्ट एसिया र साउथ एसियामा उडान गर्ने योजना अनुसार नै काठमाडौं–बनारस उडान गर्न लागेको हो ।
‘अहिले हामी अन्तर्राष्ट्रिय उडानका लागि एओसी लिने प्रक्रियामा छौं, त्यसका लागि काठमाडौं–बनारस रुटमा प्रुभिङ फ्लाइट गर्न लागेका हौं,’ उनले भने ।
उनका अनुसार एओसी लिने प्रक्रियाकै पाटोका रुपमा काठमाडौं–बनारसको प्रुभिङ फ्लाइट हो । तर काठमाडौं–बनारस उडानको मिति भने तय भइसकेको छैन ।
उनका अनुसार अहिले एउटा एटीआर ७२ विमान मर्मतको क्रममा छ, सोही विमानबाट प्रुभिङ फ्लाइट हुनेछ । लकडाउनको समयमा विमानको पार्टपुर्जा नआउँदा उक्त विमानबाट पार्टपुर्जा निकालेर अर्को विमानमा राखिएका कारण अहिले विमानको मर्मतको काम भइरहेको उनले जानकारी दिए ।
कम्पनीले तत्कालै अन्तर्राष्ट्रिय उडानमा नगए पनि चार्टर्ड उडानमार्फत् भए पनि शुरुवात गर्ने योजना बनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणले एओसीको प्रक्रिया अगाडि बढाउनका लागि ५ महिना अघि नै यति एयरलाइन्सलाई अनुमति दिएको थियो । एओसीको प्रक्रिया नै ६ महिनाको हुने र अब प्रक्रिया अन्तिम चरणमा रहेको उनको भनाइ छ ।