क्षेत्रीय होटल संघ बर्दिया गठन



काठमाडौं । होटल संघ नेपालको १६औं शाखाकारुपमा क्षेत्रीय होटल संघ गठन भएको छ । संघको बर्दियामा आयोजित कार्यसमितिको बैठकले उक्त शाखाको विधिवत रुपमा अनुमोदन गरी संघका अध्यक्ष सृजना राणाले क्षेत्रीय होटल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीलाई आवद्धताको प्रमाणपत्र हस्तान्तरण गरे ।

अध्यक्ष राणाले संघमा आवद्ध भएकोमा बर्दियाका होटल व्यवसायीहरुलाई धन्यवाद दिँदै होटल संघ नेपाल केन्द्रले बर्दिया क्षेत्रका समग्र पर्यटन विशेष गरी होटल उद्योगलाई संरक्षण, प्रवद्र्धन र विशेष गरी यस परिस्थितिमा कसरी होटल सञ्चालन गर्ने भन्ने प्रशिक्षण तथा तालिमको आयोजना गरी यस क्षेत्रको उत्थानमा गर्न संघले अहम भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरिन्
साथै राणाले अति प्रभावित क्षेत्र होटल उद्योगलाई डिमाण्ड चार्ज छुट उपलब्ध गराउन विभिन्न निकायमा गरेको निन्तर प्रयासलाई राज्य सकारात्मक रुपमा लिई डिमाण्ड चार्जसम्बन्धी छुट दिएको पनि स्पष्ट पार्नुभयो ।

आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यले संघले सातवटै प्रदेशमा अन्तरक्रियाको आयोजना गरिने पनि अध्यक्ष राणाले बताइन् ।

उक्त अवसरमा संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल संघ नेपालबारे प्रस्तुतिकरण गरेका थिए भने महासचिव साजन शाक्यले संघले गरिआएको कामकारबाही बारे जानकारी गराएका थिए ।

साथै क्षेत्रीय होटल संघ नेपालगन्जमा नगरप्रमुख डा. धवल शमशेर राणाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको संयुक्त बैठकमा पनि संघका अध्यक्ष राणाले कानुनतः होटलको ढोका खोलिए पनि व्यवहारतः प्राय होटलहरु बन्द भएको बताए ।

कोभिड–१९ को विशेष परिस्थिति र पर्यटक आगमनको अनिनिश्चितता हेर्दा तत्काल पर्यटन पुनरुत्थान सम्भव देखिँदैन र व्यवसाय खर्चहरु धान्न नै नसक्ने अवस्थामा पुगी पर्यटन उद्योग विशेष गरी होटल उद्योगहरु जीर्ण नै बन्दै गइरहेका छन् ।

छलफल तथा अन्य बैठकहरुमा होटल उद्योग प्राथमिकता प्राप्त उद्योग भनिए तापनि व्यवहारमा नहुँदा यस उद्योगलाई धेरै नै मर्का परेको हुँदा होटल उद्योगलाई कानुनी तवरबाटै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा घोषणा गरी कार्यान्वयनमा ल्याइनु पर्ने तर्फ होटल संघ नेपाल लागिपरेको बताए ।

उक्त अवसरमा अध्यक्ष राणाले कर्मचारी व्यवस्थापन, बैैंक, नगरपालिका कर तथा अन्य कर, विद्युत् सम्बन्धी अन्य सुविधा, पर्यटन बिदा, संक्षिप्त वातावरणीय अध्ययन, आन्तरिक पर्यटन, पर्यटकीय उपजको वर्गिकरण, मापदण्ड तथा सुरक्षा, दर्ता तथा सूचीकृत र एकीकृत तथ्यांक प्रणालीका बारेमा प्रकाश पारे । प्रमुख अतिथि नगरप्रमुख राणाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा नगरपालिकाबाट आवश्यक सहयोग हुने बताए ।

सो अवसरमा केन्द्रीय होटल संघ र क्षेत्रीय होटल संघ नेपालगन्जका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु