कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् माघ महिनासम्मका मूख्य आर्थिक सूचक



काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७० प्रतिशत छ ।

आयात ०.०१ प्रतिशत र निर्यात ७.६ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.९ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५७ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च ४९९ अर्ब ६८ करेड र राजस्व परिचालन ४९८ अर्ब ५२ करोड रुपैयाँ छ ।

विस्तृत मुद्राप्रदाय १०.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.८ प्रतिशत र निजीक्षेत्रमाथिको दावी १४ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.४ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर १७.३ प्रतिशत छ ।

उपभोक्ता मुद्रास्फीतिः २०७७ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत थियो ।

थोक मुद्रास्फीतिः २०७७ माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत थियो ।

तलव तथा ज्यालादर सूचकाङ्कः २०७७ माघमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१  प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.२७ प्रतिशतले बढेको छ ।

निर्यातः आर्थिक वर्ष २०७७/७८ को माघ महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १० प्रतिशत र ४.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ४७.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आयातः आर्थिक वर्ष २०७७/७८ को ७ महिनामा कुल वस्तु आयात ०.०१  प्रतिशतले बढेर ८०३ अब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात ७.१ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२.४ प्रतिशत र १०.८ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

विप्रेषण आप्रवाहः  समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई रु.५६७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

चालु खाता:  समीक्षा अवधिमा चालु खाता रु.१०१ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१०६ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिः  २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०७७ माघ मसान्तमा रु.१४६२ अर्ब ३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ माघ मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।

खर्च तथा राजस्वः  नेपाल सरकार, अर्थमन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७७ माघ मसान्तसम्ममा चालु खर्च रु.४०६ अर्ब ७३ करोड, पुँजीगत खर्च रु.६२ अर्ब ८४ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु.३० अर्ब ११ करोड गरी कुल रु.४९९ अर्ब ६८ करोड खर्च भएको छ । समीक्षा अवधिमा सरकारको कर राजश्व रु.४५८ अर्ब १० करोड र गैर कर राजश्व रु.४० अर्ब ४२ करोड गरी कुल राजश्व रु.४९८ अर्ब ५२ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ । समीक्षा अवधिमा संघीय सरकारले रु.२० अर्ब ५ करोडको ट्रेजरी विल र रु.७० अर्बको विकास ऋणपत्र गरी कुल रु.९० अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ ।

मौद्रिक स्थितिः  आर्थिक वर्ष २०७७/७८ को सात महिनामा विस्तृत मुद्राप्रदाय १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा विस्तृत मुद्राप्रदाय २३.३ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जाः आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल आन्तरिक कर्जा १०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा यस्तो कर्जा २१.८ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालनः समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.४ प्रतिशतले बढेको छ ।

कर्जा प्रवाहः समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७.३ प्रतिशतले बढेको छ ।

तरलता व्यवस्थापनः 

आर्थिक वर्ष २०७७/७८ को सात महिनामा रिभर्स रिपोमार्फत् रु.८९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरण मार्फत् रु.१९३ अर्ब ७५ करोड गरी कुल रु.२८३ अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् रु.२८ अर्ब र निक्षेप संकलन उपकरण मार्फत रु.३० अर्ब गरी कुल रु.५८ अर्ब तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत् रु.९० अर्ब ७३ करोड र स्थायी तरलता सुविधामार्फत रु.६९ अर्ब ५५ करोड गरी कुल रु.१६० अर्ब २८ करोड तरलता प्रवाह गरिएको थियो ।

ब्याजदरः२०७६ माघमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ३.९१ प्रतिशत रहेकोमा २०७७ माघमा १.१३ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ माघमा ४.५९ प्रतिशत रहेकोमा २०७७ माघमा ०.५८ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ माघमा ०.५९ प्रतिशत रहेको छ ।

मर्जर/प्राप्तिः  वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ माघ मसान्तसम्म कुल २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १६१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन्।

वित्तीय पहुँचः  कुल ७५३ स्थानीय तहमध्ये २०७७ माघसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ माघसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।


क्लिकमान्डु