आयात ०.०१ प्रतिशतले बढ्दा निर्यात ७.६ प्रतिशतले बढ्यो



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई रु.६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १०.० प्रतिशत र ४.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ  निर्यातमा ४७.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु आयात ०.०१ प्रतिशतले वृद्धि भई रु.८०३ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७.१ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२.४ प्रतिशत र १०.८ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ  सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।

आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटी रु.७३३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु