मुग्लिन–पोखरा सडक खण्ड चार लेनकोः आँबुखैरनी–जामुने खण्ड चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले बनाउने



सांकेतिक तस्बिर

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार हुने भएको छ । साँघुरो मुग्लिन–पोखरा सडक खण्ड चार लेनमा विस्तार हुन लागेको हो । सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले मुग्लिन–पोखरा सडक विस्तार गर्न लागेको हो ।

मुग्लिन–पोखरा सडक एसियाली विकास बैंक (एडिबी)को सहुलियत पूर्ण कर्जामा निर्माण गर्न लागिएको छ । मुग्लिन–पोखरा सडक अन्तर्गतको आँबुखैरेनी–पोखरा सडक खण्ड विस्तार गर्न एडिबीले २१ अर्ब ५० करोड रुपैयाँ कर्जा उपलब्ध गराएको छ ।

आयोजनका उपनिर्देशक राकेश महर्जनका अनुसार मुग्लिन–पोखरा सडक विस्तार प्रक्रिया २ चरणमा अघि बढाइएको छ । पहिलो चरणमा पूर्व खण्ड आँबुखैरनी–जामुने र पश्चिम खण्ड जामुने–पोखरा रहेको छ । र, दोस्रो चरणमा आँबुखैरेनी–मुग्लिन विस्तार गरिनेछ छ । चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ लाख रुपैयाँमा मुग्लिन–पोखरा सडकअन्तर्गतको पूर्व खण्ड आँबुखैरनी–जामुने सडक निर्माणको जिम्मा पाएको छ ।

‘पश्चिम खण्ड जामुने–पोखराको निर्माण कम्पनी छनोट हुने प्रक्रियामा छ । यो खण्डमा १८ वटा निर्माण कम्पनीले प्रस्ताव पेश गरेको छ’, महर्जनले भने, ‘प्रस्ताव पेस गर्नेमध्येमा प्राविधिक रुपममा सबल रहेका कम्पनीको प्रारम्भिक सूची तयारगरी एडीबीलाई बुझाइ सकिएको छ ।’ एडिबीले स्वीकृत गरेपछि निर्माण कम्पनी छनोटगरी ठेक्का लगाइने आयोजनाले जानकारी दिएको छ ।  मुग्लिन–पोखरा सडकको लम्बाई करिब ९४ किलोमिटर छ ।

मर्स्याङदी वारीपारी सडक

मुग्लिन–आबुखैरनी खण्डमा ६७ मेगावाट क्षमताको मर्स्याङदी  जलविद्युत् गृह छ । हाल कायम भएको रेखांकनअनुसार सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो । जलविद्युत् गृहलाई बिना हानि सडक विस्तार गर्न आयोजनाले मर्स्याङदी नदीको दुवै किनाराबाट सडक निर्माण गर्ने गरी डिजाइन तयार गरिएको छ ।

सडकको रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद्ले २०७५ चैतमा रेखांकन परिवर्तन गर्न स्वीकृति प्रदान गरेसँग डीपीआर प्रक्रिया अघि बढेको हो । परामर्शदाताले डिजाइन तयारगरी आयोजनालाई हस्तान्तरण गरिसकेको छ । विभागबाट डीपीआर स्वीकृत भएसँगै ठेक्का प्रक्रिया अघि बढाउने आयोजनाको लक्ष्य छ ।

यस्तो हुन्छ सडक
आबुखैरनी–पोखारा सडकखण्डलाई भूगोल र जनघनत्वको आधारमा सडक चौडा बनाइनेछ । घनावस्ती भएको ठाउँमा स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ सात÷सात मिटरको हुनेछ ।

एउटा लेन साढे तीन मिटर लामो हुन्छ । मुख्य सडकलाई एक अर्काबाट छुट्टयाउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ । आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ ।

सडकको दुवै तर्फ ६/६ मिटरको सर्भिस लेन हुन्छ । ढल व्यवस्थापनका लागि दुवैतर्फ दुई मिटर छुट्टयाइएको हुन्छ। पैदल यात्रुका लागि एक÷एक मिटरको फुटपाथ हुन्छ । सभिर्सलेन र मुख्य सडक छुट्टयाउन ०.७५ मिटरको पर्खाल हुन्छ । सहरी क्षेत्रमा पैदल यात्रु तथा सवारीको चाप धेरै हुने भएकाले सडक फराकिलो बनाउन खोजिएको हो ।

खुल्ला ठाउँ र पहाडी वस्ती भएको स्थनमा सडक १८ मिटरसम्मको हुनेछ । यी स्थानमा सभिर्स लेन र ढल निर्माण गर्नु पर्ने भएकाले सडकको चौडाइ सानो हुने गरी डिजाइन गरिएको आयोजनाले जनाएको छ । यो सडक खण्डमा पर्ने मादी र सेती नदीमा सिग्नेचर (आकर्षक) पुल पनि बनाउने आयोजनाको तयारी छ । सडक विभाग पुल महाशाखाले पनि मादी र सेतीमा सिग्नेचर पुल बनाउन अध्ययन गरिरहेको छ । सिग्नेचर पुल नेपालका लागि नवीन प्रविधि हो ।


क्लिकमान्डु