पूर्वअर्थमन्त्री डा. महत र विश्व बैंकका अधिकारीबीच परामर्श



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली काग्रेसका नेता डा. रामशरण महत र विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक फरिस हदाद जेरभोसबीच छलफल तथा परामर्श भयो ।

नेपालका विकास गतिविधिहरु र प्राथमिकताका बारेमा छलफल तथा परामर्शका लागि विश्व बैंकका पदाधिकारीहरु सोमबार डा. महतको निवासमा पुगेका थिए । भेटका अवसरमा नेपालको पछिल्लो आर्थिक विकास परिदृश्यबारे छलफल भएको थियो ।

साथै आगामी दिनमा नेपालका विकासका प्राथमिकताहरुका बारेमा पनि सो अवसरमा छलफल भएको जनाइएको छ । जेरभोस नेपालका साथै बर्मा र श्रीलंकाका लागि पनि राष्ट्रिय निर्देशक हुन् ।

छलफलमा नेपालका साथै बर्मा र श्रीलंकासमेत हेर्ने सञ्चालन प्रवन्धक लादा स्ट्रेलकोभा लगायत विश्व बैंकका स्थानीय अधिकारीहरु समेत सहभागी थिए ।


पुष्प दुलाल