लकडाउनयता लगानीको प्रतिबद्धता डेढ खर्ब बढी, विदेशीको हिस्सा जम्मा २० प्रतिशत



काठमाडौं । कोरोना महामारी रोकथान तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण अर्थतन्त्र ठप्प भयो । मानिसहरु घरभित्र सीमित हुँदा आर्थिक क्रियाकलापहरु बन्द भए ।

जसको असर अहिलेसम्म पनि अर्थतन्त्रमा परेको छ । कैयन उद्योगहरु अझै पनि सञ्चालनमा आएका छैनन् भने केही उद्योगहरु सीमित रुपमा सञ्चालनमा आएका छन् । यद्यपि केही यस्ता उद्योगहरु छन् जुन पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् ।

केन्द्रीय तथ्यांक विभागले तयार पारेको आर्थिक वृद्धिदरको चार्टमा अर्थतन्त्र आरोलो लागेर ‘भी’ सेपमा उकालो लाग्ने तरखरमा देखिएको छ । यद्यपि त्यो आफैमा पर्याप्त छैन ।

यसबीचमा लगानीको प्रतिबद्धता पनि सन्तोषजनक छैन । उद्योग विभागको तथ्यांक हेर्दा चैत ११ गते लकडाउन भएयता फागुनसम्ममा १ खर्ब ५८ अर्ब ७८ करोड रुपैयाँको लगानीको प्रतिबद्धता आएको छ । जसमध्ये स्वदेशी लगानीको प्रतिबद्धता १ खर्ब २७ अर्ब १३ करोड र विदेशी लगानीको प्रतिबद्धता ३१ अर्ब ६४ करोड रुपैयाँ मात्रै छ ।

सबैभन्दा धेरै उर्जा र पर्यटन क्षेत्रमा
लकडाउनयताको करिब एक वर्षको अवधिमा उद्योग विभागमा उर्जा र पर्यटन क्षेत्रका लागि सबैभन्दा धेरै लगानीको प्रतिबद्धता आएको छ । जसमध्ये उर्जा क्षेत्रमा सबैभन्दा धेरै १ खर्ब १ करोड ७१ लाख रुपैयाँ र दोस्रो स्थानमा पर्यटन क्षेत्रमा २५ अर्ब ११ करोड १५ लाख रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ ।

त्यसैगरी उत्पादनमूलक क्षेत्रका लागि १४ अर्ब १३ करोड २४ लाख रुपैयाँ, सेवामूलक क्षेत्रका लागि १४ अर्ब १२ करोड ५४ लाख रुपैयाँ, कृषि क्षेत्रमा ४ अर्ब ८ करोड ५५ लाख रुपैयाँ, सूचा प्रविधिक क्षेत्रमा २ अर्ब १५ करोड रुपैयाँ, पूर्वाधारमा १ अर्ब ५७ करोड रुपैयाँ र खनिज क्षेत्रका लागि १२ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ ।

विदेशी लगानीको हकमा सबैभन्दा धेरै पर्यटन क्षेत्रका लागि आएको छ । उक्त क्षेत्रका लागि १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ ।


क्लिकमान्डु