ट्रेड पोर्टलमा व्यवसायी समावेश भएनन्, सहभागिताको लागि प्रशिक्षण दिँदै प्रवर्धन केन्द्र



काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले गत माघ १३ गते नेपाल ट्रेड इन्फरमेशन पोर्टल सार्वजनिक गर्‍यो । नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजना अन्तर्गतका व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी, संघ संस्था र सरकारी निकायहरूलाई व्यवसाय सम्बन्धि सम्पूर्ण सुचनाहरू सहज तथा सरल रुपमा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले उक्त पोर्टलको सार्वजनिक गरेको केन्द्रले जनाएको थियो ।

यस पोर्टलमा निर्यात व्यापारसँग सम्बन्धित व्यवसाय शुरु गर्नको लागि साधारण सूचना देखि निर्यातको लागि वस्तु बजार, त्यसका लागि आवश्यक पर्ने नीति नियम प्राबधान, निर्यातकर्ताहरु एवं सेवा प्रदायकहरुको विवरण, निर्यातयोग्य वस्तुहरुको विवरणका साथै व्यापारसंग सम्बन्धित सूचनाहरु, नेपालको वैदेशिक व्यापारका करिब एक दशक अघिदेखिको तथ्याङ्क समावेश गर्न सक्ने व्यवस्था छ ।

साथै, निर्यातकर्ताहरुले निर्यात गरिएका वस्तुहरुको विवरण, निर्यात योग्य वस्तुहरुको विवरण, सेवाप्रदायकाको विवरण आफै पोर्टलमा प्रविष्टि गर्ने व्यवस्था समेत रहेकोले भविष्यमा व्यापार अभिवृद्धिमा सहयोग पुग्ने केन्द्रको विश्वास लिएको थियो ।

तर, सार्वजनिक गरेको डेढ महिना बितिसक्दा पनि व्यवसायीहरू समावेश हुन सकेका छैनन् । केन्द्रले व्यवसायीहरूको सहजताको लागि उक्त पोर्टलको सार्वजनिक गरे पनि हालसम्म व्यवसायीहरू समावेश नभएको प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोंगलले जानकारी दिए । उनका अनुसार विगतको दिनमा कुनै पनि वस्तु निर्यातसम्बन्धी सूचना लिनका लागि छुटाछुट्टै वेबसाइट, पेज र सामाजिक संजालमार्फत संकलन गर्नुपर्ने बाध्यता थियो । तर, अहिले सबै सम्पूर्ण सूचनाहरू एकै ठाउँमा उपलब्ध गराउने पोर्टल सार्वजनिक गरेपनि व्यवसायीहरू खासै लाभान्वित हुन नसकेको बताए ।

‘केन्द्रले सार्वजनिक गरेको प्रोर्टल सञ्चालनमा ल्याएपछि केही मात्रामा प्रभावकारी भइरहेको छ । त्यस पोर्टलमा भिजिटरहरू देखाइरहेको छ । तर, व्यवसायीहरूले कम्पनीको विवरण समावेश गर्नुपर्ने क्रियाकलाप भने बढेको छैन्,’ उनले भने ।

उनका अनुसार केन्द्रले आयात तथा निर्यातकर्ताको सहजताको लागि एकसाथ सूचना प्रवाह गर्ने प्रणाली ल्याएपनि व्यवसायीहरूले आफ्नो कम्पनीको विवरण पूर्ण रुपमा नराख्दा समस्या भएको बताए ।

हालसम्म एक जना व्यवसायी मात्रै समावेश

केन्द्रले सार्वजनिक गरेको इनफर्मेशन पोर्टलमा करिब डेढ महिनाको अवधिमा एउटा जना व्यवसायीले मात्रै आफ्नो कम्पनीको सम्पूर्ण विवरण प्रविष्ट गरेको केन्द्रका निर्देशक गोंगलको भनाइ छ । तर, कम्पनीले आफ्नो सम्पूर्ण विवरण वेवसाइटमा प्रविष्ट गरे पनि कम्पनीले उत्पादन गरेको वस्तु तथा सेवाको विवरण भने समावेश नगरेको उनले बताए । पोर्टलमा विवरण देखिनको लागि एक्जिम कोड र कम्पनी दर्ता हुन आवश्यक भएकाले उक्त विवरण नभएसम्म व्यवसायीले प्रयोग गर्न नपाउने उनले बताए ।

‘कुनै पनि व्यवसायीले आफ्नो कम्पनीको विवरण र निर्यातित गर्ने वस्तु तथा सेवाको पूर्ण विवरण समावेश नगरेसम्म वेवसाइटमा नदेखिने हुन्छ । अहिले व्यवसायीहरूले कम्पनीबारे मात्रै राख्दै आएका छन् भने वस्तुको विवरण नराखेको अवस्था छ । त्यसैले पोर्टलबारे केन्द्रले प्रशिक्षण कार्यक्रम सञ्चालन गरि अगाडि बढ्ने भएको छ,’ उनले क्लिकमान्डूसँग भने ।

प्रशिक्षणको दिँदै आबद्ध हुन प्रोत्साहन गर्ने
केन्द्रले पोर्टलबारे विगतको दिनमा पनि व्यवसायीलगायत विभिन्न निकायसँग छलफल गरी पोर्टल सार्वजनिक गरेको थियो । उक्त पोर्टल देशभरका ४ हजारभन्दा बढी व्यवसायीहरूले घरमै बसीबसी प्रयोग सक्ने व्यवस्था छ । नेपालले उक्त प्रविधिको पहिलो पटक सञ्चालनमा ल्याएकाले सबै व्यवसायीहरूलाई थाहा नभएका कारण आबद्ध हुन नसकेको उनको अनुमान छ । ‘केन्द्रले चितवनमा पोर्टलबारे व्यवसायीहरूलाई प्रशिक्षण कार्यक्रम प्रदान गरिसकेको छ,’ उनले भने, ‘आगामी दिनमा पनि वीरगञ्ज, विराटनगरलगायत अन्य स्थानमा गर्ने तयारी गर्दैछौं ।’

साथै, व्यवसायीहरू आफ्नो कम्पनीको प्रोफाइल राख्न पनि निकै डराउने भएकाले यसबारे खासै प्रभावकारी नभएको उनले बताए । ‘नेपालमा व्यवसायीबारे सुचना प्रदान गर्ने पोर्टल भएकाले पोर्टलमा आफ्नो कम्पनीको प्रोफाइल राखेर के हुने, कस्तो हुने हो भनेर डराउँछन् । साथै, व्यवसायीहरू आफ्नो इन्फर्मेशन हतपत राख्न पनि चाहँदैनन्,’ उनले भने ।

गोंगलका अनुसार पोर्टलमा आफ्नो व्यवसायबारे सम्पूर्ण विवरण राख्न नचाहनु मुख्य समस्या भएको उनले बताए । साथै, आफ्नो कम्पनीको बारेमा अरुले थाहा पायो भन्ने प्रवृत्तिले गर्दा प्रभावकारी रुपमा समावेश हुन नसकेको उनको बुझाइ छ ।

त्यसैगरी पछिल्लो समय व्यवसायीहरूले यसबारे बुझ्नबारे भने दैनिक रुपमा बढेको उनले बताए । उनका अनुसार हालसम्म दुई जनाको मात्रै निवेदन देखेको हुनाले यसलाई प्रभावकारी बनाउन लागि परेको उनले जानकारी दिए ।

प्रयोगकर्ता बढ्दै
केन्द्रका अनुसार पोर्टलमा कम्पनी र वस्तुबारे सबै समावेश नगरेपनि दिन प्रति दिन भने पोर्टलको प्रयोगकर्ता बढ्दै गएको जनाएको छ । केन्द्रले पहिले स्टेजिङ्ग भनेर चलाएका थियौं । जसमा अहिले स्टेजिङ हटेर नेपाल ट्रेड पोर्टल डट जीओभी डट एनपी भएको छ ।

त्यसले गर्दा व्यवसायीहरूलाई थाहा नभएका कारण आबद्ध हुन नसकेको उनको भनाई छ । तर, समावेश कम भए पनि प्रयोगकर्ता र यसबारे सोधपुछ गर्ने व्यक्तिको संख्या भने बढेको उनले बताए । ‘केन्द्रमा आएर यसबारे सोधपुछ गर्ने मानिसको संख्या पनि धेरै छन्,’ उनले भने, ‘आगामी दिनमा विस्तारै बढ्दै जानेछ ।’

साथै, उक्त पोर्टल व्यवसायीको लागि बनाएको हुनाले जति धेरै व्यवसायीले प्रयोग ग¥यो त्यति धेरै प्रभावकारी हुने उनको भनाई छ ।


क्लिकमान्डु