पोखरामा यस्तो बन्दै छ ५२ फिट अग्लो विशाल शिव मूर्ति, ४० करोड बढी लगानी (फोटो फिचर)



पोखरा । पर्यटकीय नगरी पोखरामा पर्यटक आकर्षित गर्न र पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले विभिन्न पर्यटकीय पूर्वाधार निर्माणको काम शुरु भइसकेका छन् ।

फेवातालको किनारैमा सराङकोटसम्म लैजाने केबुलकारसँगै, एड्भेञ्चर टुरिजम अन्तर्गतको बञ्जिजम्प र जिप फ्लाइङको निर्माण भइरहेको छ ।

त्यसैमध्येको एक हो, भगवान शिवको विशाल मुर्ति ।

पोखराको लेकसाइडबाट करिब १३ किलोमिटर दक्षिणतर्फ भगवान शिवको विशाल मुर्ति निर्माणको काम करिब आधा सकिएको छ ।

पुम्दिकोट विशाल शिव मूर्ति निर्माण तथा पर्यटन समितिका अध्यक्ष चन्द्रकान्त बरालका अनुसार फागुन सकिँदासम्म निर्माणको काम ४५ प्रतिशतले पूरा भएको छ ।

पोखराको लेकसाइडबाट पाँतले छाँगो अर्थात् डेभिड फल हुँदै स्याङजातर्फ जाने बाटोमा करिब ३ किलोमिटर पार गरेपछि ठाडै उकालो लाग्ने अर्को बाटो भेटिन्छ । यसअघि यो बाटो फेवातालबाट ठ्याक्कै सिरानमा पर्ने शान्ति स्तुपासम्म जानका लागि पर्यटकहरु प्रयोग गर्दथे ।

तर अब शान्ति स्तुपासँगै कास्कीको पुम्दिकोटको डाँडामा भगवान श्री शिवको विशाल मूर्ती निर्माण हुँदैछ । स्तुपा गइसकेका वा पोखराबाट स्तुपा भएको डाँडा पहिचान गर्न सक्नेलाई बुझाउनु पर्दा भगवान शिवको मूर्ति निर्माण भइरहेको शान्ति स्तुपाभन्दा २ डाँडा माथिल्लो ठाउँमा हो । त्यहाँ जान शान्ति स्तुपाबाट थप १० देखि १५ मिनेट गाडीमा यात्रा गर्नुपर्ने हुन्छ ।

शुरुमा शिव उभिएको १०८ फिटको अग्लो मूर्ति स्थापना गर्ने भनिए पनि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको र मूर्ति धेरै अग्लो हुँदा समस्या पर्ने भएकाले बिराजमान मूर्ति स्थापना गरिएको हो ।

कुल २० रोपनी जग्गामा फैलिए यस क्षेत्रमा मूर्ति स्थापनाका लागि भारतबाट कालिगढ ल्याएर काम गरिएको हो ।

अध्यक्ष बरालका अनुसार फागुनको अन्तिमसम्ममा ४५ प्रतिशत काम सकिएको छ । हेर्दा शिवको मूर्तीको बाहिरी आकार सकिएको छ । शिव बिराजमान भएभन्दा मुनीपट्टी पुजा र हवन गर्नका लागि पर्याप्त मात्रामा संरचना बनिसकेको छ ।
जमिनमा मूर्तिलाई वरिपरीबाट घेरिएका १०८ वटा शिवलिंग निर्माणको काम पनि सकिएको छ । बरालका अनुसार अब बाहिरी संरचनामा अब शिव र पार्वतीका पुत्रद्वय कुमार र गणेशको मूर्तीसँगै सुमेरु पर्वत र विशाल बगैँचा पनि निर्माण हुन बाँकी छ ।

माछापुच्छ्रेलगायतका हिमाल, फेवातालसँगै समग्र पोखरा, सराङकोटलाई पुष्ठिभूमिमा पारेर बिराजमान भएका शिवको मूर्ती ५२ फिट अग्लो हुनेछ । यसका लागि ४० करोड रुपैयाँभन्दा बढी खर्च हुने बरालले बताए ।

मूर्ति निर्माणका लागि २०७३ सालमा महायज्ञ लगाएर ६ करोड रुपैयाँभन्दा बढी नगद र जग्गा प्राप्त गरिएको थियो ।

५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार पहिलो चरणमा मूर्तीसहित गणेशले परिक्रमा गरिरहेको १०७ शिवलिंग, १०८ स्वर्गद्वारी सिँढी, सुमेरु पर्वत निर्माण हुने बरालले जानकारी दिए ।

त्यसैगरी दोस्रो चरणमा गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायतका संरचना निर्माण गर्ने योजना छ । मूर्ति निर्माण भइसकेपछि महत्वपूर्ण गन्तव्यका रुपमा यो क्षेत्र विकास हुने स्थानीयको विश्वास छ ।

पुम्दिकोटबाट फेवातालसँगै, पोखरा, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमालहरु एकैसाथ देख्न सकिन्छ ।


पुष्प दुलाल