दुर्गा प्रसाईंको मार्सी बियर चैत १५ देखि बजारमा, छिट्टै माफिया ह्विस्की र डन इनर्जी ड्रिङ्स



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले यही चैत १५ गतेदेखि मार्सी ब्राण्डको बियर बजारमा ल्याउने भएका छन् । कम्पनीले फागुनमै बजारमा पठाउने तयारी गरे पनि सरकारी प्रक्रिया पूरा गर्दा केही ढिलो भएको हो ।

‘विभिन्न सरकारी प्रक्रिया पूरा गर्दा केही ढिला भयो,’ प्रसाईंले क्लिकमाण्डूसँग भने, ‘चैत १५ गतेदेखि बजारमा पठाउने छौं ।’

प्रसाईंले भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन शुरु गरेका हुन् । यसका लागि उनले हालसम्म साढे ४ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

थप २ अर्ब रुपैयाँ थप लगानी गर्ने योजना बनाएका छन् । हाल कम्पनीमा ५ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको र आगामी दिनमा २ हजार व्यक्तिले रोजगारी पाउने बताए ।

मार्सी बियर भारत निर्यातका लागि ४० लाख बोतलका लागि सम्झौता पनि भइसकेको उनले जानकारी दिए । प्रसाईंका अनुसार उद्योगबाट एक घण्टामा २२ हजार बोतल उत्पादनको क्षमता रहेको बताए ।

तीन वर्षअघि तत्काली नेकपा एमाले र माओवादीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकीकरणका सिलसिलामा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो ।

त्यसको तीन वर्षपछि त्यही ‘मार्सी’ नामलाई क्याच गरेर त्यसैका नाममा बियर उत्पादन गर्दैछन् । कर्णालीमा उत्पादन हुने मार्सी चामल ३० प्रतिशत र बाँकी ७० प्रतिशत माल्ट प्रयोग गरेर मार्सी नाममा बियर उत्पादन गरिने छ ।

हाल मार्सी बियर प्रिमियम र स्ट्रङ गरी दुई वटा ब्राण्डमा उत्पादन हुनेछ भने भविष्यमा ड्राफ्ट बियर पनि उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

मार्सी बियर उत्पादन गर्ने क्षेत्र ५ बिगाह छ । यो देशकै राम्रो प्रविधियुक्त कम्पनी हो । एक ठाउँमा जौं र मार्सी हालेपछि मान्छेले केही गर्नु पर्दैन । मेशिनले नै प्रोसेसिङदेखि प्याकेजिङसम्मको काम गर्छ । पूर्णरुपमा स्वचालित हुन्छ । मार्सीको ड्राफ्ट बियर पनि ल्याउने तयारी गरिरहेको प्रसाईंले सुनाए ।

उच्च हिमाली क्षेत्रमा फल्ने मार्सी धानको खुदी हालेर बनाएको बियरको स्वाद पनि फरक हुने उनको भनाइ छ ।

‘मलाई धेरैले माफिया र मार्सी भनेर खेदे, म त नेगेटिभभित्र पोजेटिभ खोज्ने मान्छे हुँ, अब माफिया ह्वीस्की पनि छिट्टै ल्याउँछु, त्यसका लागि जग्गा खोजिरहेको छु, उपयुक्त स्थानमा जग्गा पाउनेवित्तिकै प्लान्ट लगाउँछु,’ उनले भने, ‘त्यसपछि डन इनर्जी ड्रिङ्स ल्याउँछु ।’


पुष्प दुलाल