तातोपानी नाकाबाट पहिलो पटक रासायनिक मल आयो, साल्ट ट्रेडिङले ४ हजार टन ल्याउँदै (फोटोफिचर)



तातोपानी । नेपालमा उत्तरी नाकाबाट पहिलो पटक रासायनिक मल आयात भएको छ । साल्ट ट्रेडिङका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले मल आयात गरेको हो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार फागुन २३ गते पहिलोपटक तातोपानी नाकाबाट मल नेपाल आएको हो ।

‘अहिलेसम्म २८० टन युरिया मल आइसक्यो । हरेक दिन ४र५ वटा कन्टेनर आइरहेका छन्,’ उनले भने, ‘कन्टेनरको सुविधा राम्रो भयो भने १ महिनामा सबै मल आइसक्ने अनुमान गरेका छौं ।’

मल आयात गर्ने सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाले नाफामूलकभन्दा पनि शुरुमा ल्याउनेमा मात्रै केन्द्रित भए पनि सानो परिमाणमा नाफा भएको बताए ।

कम्पनीले प्रति मेट्रिकटन ३८८.९० डलर अर्थात् करिब २० करोड रुपैयाँमा मल ल्याइएको बताए । उनले चीनबाट ५ दिन नाकासम्म र ७ दिनमा काठमाडौंसम्म लैजान सकिने बताए ।

‘शुरुमा परीक्षणका लागि उत्तरी नाकाबाट ल्याउने भनेकाले सानो परिमाणमा ल्याएका हौं, अब हामीले वार्षिक १ लाख मेट्रिक टनसम्म ल्याउन सक्छौं,’ शेर्पाले भने ।

उनका अनसार ४० फिट लामो कन्टेनरले मल भन्सार कार्यालयसम्म ल्याएको बताए ।

कृषि मन्त्रालयका सह(सचिव काञ्चनराज पाण्डेले उत्तरी नाकाबाट शुरुमा परीक्षणका लागि सानो परिमाणमा ४ हजार टन मल मात्रै ल्याइएको बताए । उनले उत्तरी नाकाबाट मल ल्याउँदा मूल्यमा पनि प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो परेको बताए ।

यो मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछापलगायतका पहाडी जिल्लाका किसानलाई विक्री वितरण गरिनेछ । मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत् ल्याइएको हो ।

उनका अनुसार यो मल साल्ट ट्रेडिङले गाउँपालिका र नगरपालिका मातहतबाट बिक्री तथा वितरण गर्नेछ ।

कृषि विभागका महानिर्देशक डा। गोविन्दप्रसाद शर्माले चीनबाट मल ल्याउँदा पहिले भारत हुँदै ल्याउने गरेकोमा पहिलोपटक साल्ट ट्रेडिङले यो नाकाबाट ल्याउँदा तातोपानी नाका विकल्प भएको बताए । उनका अनुसार तातोपानी नाकाबाट मल ल्याउँदा प्रतिकेजी २र३ रुपैयाँ सस्तो पर्ने परेको छ । किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन् ।

शर्माले बंगलादेशबाट जीटुजीमार्फत् मल आयात भइरहेको र तातोपानी नाकाबाट पनि मल आयात शुरु भइसकेकाले आगामी वर्ष किसानलाई मल अभाव नहुने दावी गरे ।

‘चीनको सिगात्सेसम्म रेलमा ३ दिन र तातोपानी नाकासम्म ल्याउन २ दिन समय लाग्छ, यसो हुँदा पनि १ सातामा काठमाडौंसम्म लैजान सकिन्छ,’ उनले भने ।

भन्सार प्रमुख खत्रीका अनुसार प्रत्येक कन्टेनरमा ५०० बटा बोरा हुन्छ । एउटा बोरामा ५० केजी युरिया मल हुन्छ । साल्ट ट्रेडिङले ४ हजार टन अर्थात् ८० हजार बोरा मल आयात गर्दैछ ।

मलको प्रतिबोरा औषत खरिद मूल्य २ हजार ३२२ रूपैयाँ ४४ पैसा परेको छ । जसमा औषत अनुदान मूल्य १ हजार ४३३ रुपैयाँ ७७ पैसा परेको छ । काठमाडौं, बनेपा, बिदुरमा उपभोक्ताले औषत ८८८ रुपैयाँ ६७ पैसामा मल खरिद गर्न पाउनेछन् ।

भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्यरुपमा सञ्चालनमा आएको हो । गत वर्ष तातोपानी भन्सार कार्यालयले १ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आवको फागुनसम्ममा ४१ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

हाल उक्त नाकाबाट दैनिक औसतमा १४ कन्टेनर सामान आयात भइरहेको छ । जसमा सबैभन्दा बढी मल आयात भएको भन्सार प्रमुख खत्रीले जानकारी दिए । 


पुष्प दुलाल