पर्यटकीय केन्द्र घोडेपानी–पुनहिलमा करोडौ लगानी गरिदै, पूर्वाधार निर्माण तीव्र



काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी र पुनहिल क्षेत्रमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । भ्रमणमा आउने पर्यटकको सुविधाका लागि धमाधम पूर्वाधार विस्तार भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विसं २०७५ मा घोडेपानी–पुनहिललाई १०० वटा स्थापित पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो । पर्यटकीय गन्तव्यमा सूचीकृत भएसँगै निजी क्षेत्र, समुदाय र सरकारी तबरबाट करोडौँका पूर्वाधार निर्माण भएका हुन् ।

घोडेपानीका व्यवसायीले शहर बजारमा जस्तै पक्की घर र होटललाई सुविधायुक्त बनाउने प्रतिस्पर्धा चलेको छ ।

पाँच वर्षअघि घोडेपानीका होटलको क्षमता दैनिक ५०० को हाराहारीमा थियो । होटलको क्षमता बढाएर एक हजारभन्दा बढी पु¥याएको होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुन बताउछन् । ‘पाहुनाले बास नपाएर डाइनिङ हल र भान्छाकोठामा सुत्नुपर्ने समस्या छैन’ उनले भने ‘ तातो पानी, एट्याच बाथरुम भएका कोठा र वाइफाइको सुविधा छ ।’

समुद्री सतहदेखि २ हजार ८०० मिटरको उचाइमा अवस्थित घोडेपानीमा २५ सुविधा सम्पन्न होटल छन् । यसअघि ढुङ्गा, माटो र काठले बनेका घरमा होटल सञ्चालन गरिएको थियो । अधिकांश व्यवसायीले पक्की घर बनाएका छन् । होटलको सुविधा र क्षमता बढाउन न्यूनतम २ करोडदेखि ७ करोडसम्म लगानी गरेको व्यवसायीले बताएका छन् ।

विसं २०७६ को असारमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाख बजेटबाट मार्ग खोलिएको चित्रे हुँदै घोडेपानी जोड्ने चार किलोमिटर सडक थप २५ लाख खर्चेर ग्राभेल गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न रु २७ करोडको आयोजना सञ्चालन गरेको छ ।

घोडेपानीका व्यवसायी रनबहादुर पुनले सडक सुविधासँगै सवारी साधन चढेर आउने आन्तरिक पर्यटक बढेका बताए । ‘निर्माण र खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी सहज र खर्च सस्तिएको छ’ उनले भने ‘पोखरेबगर–चित्रे सडक कालोपत्रे र कास्कीसँग सडक जोडिएपछि झनै सजिलो हुन्छ ।’

घोडेपानीदेखि कास्कीको उल्लेरी जोड्ने सडक निर्माण गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पालिका र प्रदेश सरकारका कार्यालयमार्फत घोडेपानी क्षेत्रमा चालु आर्थिक वर्षमा २ करोड ५० लाख बजेटका योजना कार्यान्वयनको चरणमा रहेका जानकारी दिए । ‘ कोरोनाका कारण यसपालि पर्यटक नआएकाले फुर्सदमा भएका यहाँका बासिन्दा अहिले भौतिक पूर्वाधार निर्माणमा परिचालन भएका छन् ’ अध्यक्ष पुनले भने ‘पर्यटक आउँदा उपभोक्ता समितिमा बस्ने मान्छे पाउन मुस्किल हुन्थ्यो । फुर्सदको समयलाई विकासमा लगाएका छन् ।’

घोडेपानी र त्यहाँदेखि दृष्य अवलोकन स्थल पुनहिल जाने बाटोमा प्रदेश सरकारको २५ लाख सहयोगमा २३ वटा सोलार बत्ती जडान गरेर रातको समयमा उज्यालो बनाइएको छ । सोलार बत्ती जडान गरेपछि घोडेपानीमा बास बसेर उज्यालो नहुँदै पुनहिलमा जाने पर्यटकलाई सहज भएको टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले बताए ।

पानी र हिउँ परेको अवस्थामा सुरक्षित बसेर दृष्यावलोकन गर्ने सुविधाका लागि पुनहिल परिसरमा २७ लाख ५० हजार खर्चेर तीन कोठे आश्रयस्थलको पक्कि भवन निर्माण भएको छ ।

यो योजनाका लागि पर्यटन विभागले गाउँपालिकामार्फत बजेट पठाएको थियो । पुनहिलको नजिकै पर्ने फुलबारीमा प्रदेश सरकारले रु १० लाख खर्चेर गुराँस उद्यान बनाउन लागेको छ । २० रोपनी जमीनमा बनाउन लागिएको उद्यानको तारबार गर्नुका साथै शौचालय निर्माण गर्ने योजना छ ।

नेपालमा पाइने ३१ प्रजातिका गुराँस एकै ठाउँमा अवलोकन गर्न सकिनेछ । डिभिजन वन कार्यालय म्याग्दीले २० लाखको लागतमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने साइकल र घोडा टे«ल, चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेला बनाउन लागेको कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए ।

योजनाको डिजाइन र लागत अनुमान तयार पारी उपभोक्ता समितिसँग सम्झौता गरिसकेको उनले बताए । ३ किलोमिटर पदमार्ग बनाउन लागिएको हो । यसैगरी प्यारीबाराही तालको वरपर ३८० मिटर लामो ढुङ्गा बिछ्याएको पैदलमार्ग बनाउन घराम्दी सामुदायिक वन उपभोक्ता समूहलाई ३ लाख ८४ हजार उपलब्ध गराउने सम्झौता भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको ८ लाख बजेटबाट घोडेपानी खानेपानी आयोजनाको क्षमता विस्तारको काम शुरु भएको छ । स्थानीयको थप रु आठ लाख जुटाएर ३० हजार लिटर क्षमताको भण्डारण ट्याङ्की निर्माण र मुहानबाट थप पानी ल्याउन लागिएको उपभोक्ता समितिका अध्यक्ष टेकसर बुद्धुजाले बताए ।

बीस वर्षअघि भारतीय दूतावास र रेडक्रस सोसाइटीको सहयोगमा निर्माण भएको घोडेपानी खानेपानी आयोजनाको ट्याङ्की र पाइप सानो भएकाले क्षमताले माग धान्न नसक्दा समस्या भएको छ । गाउँपालिकाबाट ८ लाख विनियोजन भएको मगर सङ्ग्रहालय सञ्चालन गरेको घोडेपानी आमा समूहको भवन निर्माण जारी छ ।

समूहको कोषमा रहेको थप १० लाख लगानी गरेर पक्की भवन निर्माणलाई पूर्णता दिने पदाधिकारीले बताएका छन् । घोडेपानीमा ढल व्यवस्थापनका लागि नाली बनाउन गाउँपालिकाले थप रु छ लाख विनियोजन गरेको छ । घोडेपानी गाउँभित्र विद्युत्को तारलाई व्यवस्थित बनाउन केबुल तार राख्न थालिएको छ ।

गाउँपालिकाले विनियोजन गरेको रु २० लाख बजेटबाट पुनहिल हुँदै मोहरे, घोडेपानीदेखि चित्रे, खिवाङ र घान्दु्रकतर्फ जाने करीब दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । घोडेपानी–प्यारीबाराही पदमार्ग निर्माण समितिका अध्यक्ष सुशील पुनले घोडेपानी भित्रने पाहुनाको बसाई लम्बाउन नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी त्यहाँ पूर्वाधार निर्माणका साथै प्रचारप्रसारमा जुटेको बताउँछन् ।

घोडेपानीलाई केन्द्रित गरेर फूलबारी, मोहरेडाँडा, प्यारीबाराही ताललगायत सहायक गन्तव्यको पहिचान गरिएको छ । पहाडको उच्च स्थानमा रहेको घोडेपानी र पुनहिल सूर्योदय, हिमशृङ्खला र गुराँसको जङ्गल अवलोकनका लागि महत्वपूर्ण गन्तव्य हो । अन्नपूर्ण संरक्षण आयोजनाअन्तर्गत पर्ने घोडेपानी–पुनहिल क्षेत्र अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यमा पर्छ ।

पोखरादेखि नजिक पर्ने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा परेको छ । कोरोना भाइरसका कारण एक वर्षदेखि पर्यटक आगमन नुहँदा यो क्षेत्र सुनसान बनेको छ । बन्दाबन्दी हटेको र कोरोनाको जोखिम घटेपनि पर्यटक आगमन अपेक्षाकृत हुन सकेको छैन् । रासस


पुष्प दुलाल