सुनको आपूर्ति बढाउन सरकार सकारात्मक, छिट्टै निर्णय हुन्छः अर्थमन्त्री पौडेल
काठमाडौं । सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ । बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न सरकार तयार भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटकाक्रममा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताए । उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताए ।
माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राखेका थिए ।
त्यसक्रममा सभाषद् एवं महासंघका सल्लाहकार छविलाल बिश्वकर्माले ब्यवसायीलाई परेको अप्ठ्याराका बिषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए ।
त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गए ।
अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उनले औंल्याए ।
आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनले स्मरण गराए ।
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।
यसैवीच आगमी आर्थिक बर्षको बजेटमा सुनचाँदीको क्षेत्रवाट समुट्नुपर्ने बिषयहरुलाई समेटिएको सुझाव समेत अर्थमन्त्री पौडेललाई बुझाइएको छ ।