तोकिएको गुणस्तर नभएको भन्दै सम्राट सिमेन्टलाई गुणस्तर विभागको कारबाही



काठमाडौं । गुणस्तर तथा नापतौल विभागले तोकिएको गुणस्तर कायम नगरेको भन्दै सम्राट सिमेन्टलाई कारबाही गरेको छ । विभागको टोलीले बुधबार अनुगमनका क्रमममा कैफियत भेटाएपछि तत्कालका लागि सिमेन्ट बिक्री गर्न रोक लगाएको हो ।

‘अनुगमनका क्रममा देहाय बमोजिम उद्योगबाट उत्पादित ५३ ग्रेड (एनएस ५७२) उल्लेखित करीब १०० बोरा अ‍ोपीसी सिमेन्ट पीआरए गजदम्बा इन्टरप्राइज बाफल काठमाडौंमा बिक्री वितरणका लागि राखेको पाइएकाले उक्त उद्योगलाई नेपाल गुणस्तर चिन्ह ऐन- २०३७ तथा नियमावली- २०४० बमोजिम कारबाही गरिएको छ,’ विभागका प्रवक्ता दिनानाथ मिश्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दाङको सतवरियामा रहेको प्लान्टबाट सम्राट सिमेन्टले विभिन्न ब्राण्डमा उत्पादन गर्दै आएको छ । यो कम्पनी अन्तर्गतको देव सम्राट प्रिमियम ओपीसी सिमेन्टलाई विभागले कारबाही गरेको हो ।

गिभावले अनुगमनका क्रममा भेटिए लटका सिमेन्टको बिक्री रोक्का राखेको छ । तोकिएको गुणस्तर पुर्याएर मात्रै बिक्री वितरण गर्न निर्देशन दिइएको प्रवक्त मिश्रले जानकारी दिए ।

५ हजार टन सिमेन्ट प्रतिदिन उत्पादन गर्ने लक्ष्यसहित शुरु भएको सम्राट सिमेन्टले प्रतिदिन ४५ सय टन सिमेन्टलाई आवश्यक पर्ने क्लिङकर उत्पादन गर्दै आएको छ ।

उद्योगको अध्यक्षमा मुकुन्द प्रसाद तिमिल्सिना छन् । उनको लगानी शुभश्री अग्नी (प्युठान सिमेन्ट) मा पनि छ । त्यस्तै उनी भक्तपुर इँटा टायल कम्पनीमा पनि उनको लगानी छ ।

४६ बिगा क्षेत्रफलमा फैलिएको उद्योगमा हाल करिब ५ सय जना कर्मचारी कार्यरत छन् । उद्योगमा १६ बिलियन लगानी भएको छ । जसमध्ये ११ बिलियन फिक्स्ड र बाँकी ५ बिलियन वर्किङ क्यापिटल हो ।


पुष्प दुलाल