गहुँको आयात ७७ प्रतिशले घट्यो, मकै र कोदोको आयात भने बढ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनाको अवधिमा गहुँको आयात घट्दा मकै र कोदोको आयात भने बढेको छ ।

आर्थिक वर्ष २०७६/७७ को को तुलनामा चालु आवको सोही अवधीमा गहुँको आयातमा भारी गिरावट आउँदा मकै र कोदोको भने आयात बढेको भन्सार विभागले देखाउँदछ ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालले ९३ करोड ४० लाख ७२ हजार मूल्य बराबरको ३ करोड १ लाख २७ हजार मूल्य केजी गहुँ आयात गरेको छ । सोही अवधिमा गत वर्ष नेपालले ४ अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको १२ करोड ४२ लाख २० हजार केजी गहुँ आयात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

उक्त तथ्याङकको तुलना गर्दा गत वर्षको तुलनामा चालु आवमा ३ अर्ब १८ करोड ४२ लाख रुपैयाँ अर्थात ७७.३१ प्रतिशतले कमी हो ।

त्यस्तै मकैको आयात भने बढेको देखिन्छ । चालु आवको सात महिनाको अवधिमा नेपालले १० अर्ब १७ करोड ९६ लाख रुपैयाँ बराबरको ३८ करोड ८० लाख ४५ हजार केजी मकै आयात गरेको छ ।

गत वर्ष सोही अवधिमा नेपालले ९ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ बराबरको २६ करोड ८८ लाख ९७ हजार केजी मकै आयात गरेको थियो । जुन गत वर्षको तुलनामा चालु आवमा ६१ करोड २८ लाख ५१ हजारले बढी हो ।

त्यसैगरी, गत वर्षको तुलनामा चालु आवमा कोदोको पनि आयात बढेको छ । गत वर्ष माघ मसान्तसम्ममा ३ करोड ४१ लाख २८ हजार मूल्य बराबरको १० लाख ४१ हजार केजी कोदो आयात गरेको थियो ।

त्यस्तै, चालु आवको सोही अवधिमा ४ करोड ८१ लाख १६ हजार मूल्यको १४ लाख ५४ हजार केजी कोदो आयात गरेको छ । जुन गत वर्षको तुलनामा चालु आवमा १ करोड ३९ लाख ८८ हजारले बढी हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा अत्याधिक मात्रामा गहुँको आयात भएको देखिन्छ । गत वर्ष मात्रै हालसम्मकै उच्च गहुँ आयात भएको पाइन्छ । आव २०७६/७७ मा नेपालले ७ अर्ब ९० करोड ७५ लाखको गहुँ आयात गरेको थियो ।

त्यस्तै, २०७३/७४ मा ५ अर्ब २० करोड ६७ लाख रुपैयाँको गहुँ आयात भएकोमा आव २०७४÷७५ मा घटेर २ अर्ब ९० करोड ५१ लाख रुपैयाँको मात्रै गहुँ आयात भएको थियो । साथै, २०७५/७६ मा ५ अर्ब ८० करोड ६५ लाख रुपैयाँको गहुँ आयात भएको तथ्याङ्कले देखाउँदछ ।

मकैको पछिल्लो पाँच वर्षको आयात हेर्दा हरेक वर्ष बढ्दै गएको तथ्याङ्कले उल्लेख गरेको छ । आव २०७३/७४ मा १० अर्ब ६३ करोड ४९ लाख रुपैयाँको आयात भएको थियो भने आव २०७४/७५ मा आयात बढी १२ अर्ब५५ करोड ४६ लाखको आयात भएको थियो ।

त्यस्तै, आव २०७५/७६ मा १२ अर्ब ९४ करोड ७० लाख रुपैयाँको, २०७६/७७ मा १४ अर्ब ७५ करोड ३० लाखको र चालु आवको माघ मसान्तसम्ममा १० अर्ब १७ करोड ९६ लाख रुपैयाँको मकै आयात भएको छ ।

त्यसैगरी, विगतको दिनमा निकै कम आयात हुने कोदो पछिल्लो समय अत्याधिक रुपमा आयात बढेको पाइन्छ । आव २०७३/७४ मा ३ करोड २७ लाखको कोदो आयात भएको थियो भने २०७४/७५ मा ३ करोड ८४ लाखको आयात भएको थियो ।

तर, २०७५/७६ मा एक्कासी ८ करोडको कोदोको आयात बढेको थियो । सथौ, २०७६/७७ मा ७ करोड १५ लाखको कोदो आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।


पुष्प दुलाल