बैंकिङ क्षेत्रमा पुरुषको एकाधिकार तोडिँदै, उच्च व्यवस्थापनमा पनि बढ्दैछ महिलाको सहभागिता
काठमाडौं । नेपाली बैंकिङको उच्च व्यवस्थापनमा पुरुषहरुको एकाधिकार तोडिन थालेको छ । पछिल्लो समय बैंकहरुको उच्च व्यवस्थापनमा महिलाको उपस्थिति बाक्लो छ । यो तथ्यांकले आगामी दश वर्षमा बैंकहरुको उच्च व्यवस्थापनमा पुरुष र महिलाको सहभागिता बराबरको अवस्थामा पुग्ने संकेत देखिएको छ ।
जागिरका लागि निजी क्षेत्रमा सबैभन्दा आकर्षकमध्येको एक हो बैंकिङ क्षेत्र । यही क्षेत्रमा महिलाको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाएको छ ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा करार र स्थायी बैंकिङ गरी ४५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । जसमा ३९ प्रतिशत अर्थात १८ हजार जना महिला कर्मचारी छन् ।
एकातिर संविधानले नै महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ भने अर्कातिर महिलाहरु खरो प्रतिस्पर्धामा उत्रिएर करिअरमा फड्को मारिरहेका छन् ।
बैंकिङ क्षेत्रका कर्मचारीमध्ये ३८.७१% महिला, प्रभु र प्राइममा ५०% बढी, कुन बैंकमा कति ?
महिलाहरु घरको काममा मात्रै सीमित हुनुपर्छ भन्ने परम्परागत मान्यतालाई तोड्दै महिलाहरु रोजगारीमा करिअर बनाउँदै गइरहेका छन् । यसलाई लैंगिक क्रान्तिकारुपमा समेत हेर्न सकिन्छ ।
जागिरे जीवनमा महिलाहरुको प्रफर्मेन्स पनि राम्रो छ । उनीहरुले पुरुषसरह उत्पादकत्व दिएकै कारण नेतृत्व तहसम्म पुगेका छन् ।
कुन बैंकमा कति ?
नेपालको बैंकिङ इतिहासमै मेगा बैंकले पहिलो महिला अनुपमा खुञ्जेलीलाई प्रमुख कार्यकारी अधिकृत बनायो । मेगाको डेपुटी सीइओ पनि महिलै छन् । रविना देशराज मेगाको डेपुटी सीइओ हुन् । मेगाको उच्च व्यवस्थापनमा डेढ दर्जन महिला छन् । महिलाले नेतृत्व गरेको मेगा बैंकको प्रगति हेर्दा साँच्चै लोभलाग्दो छ । यसबाट के प्रष्ट हुन्छ भने नेतृत्व गर्ने अवसर पाएको खण्डमा महिलाहरु पुरुषभन्दा कम छैनन्, बरु अब्बल छन् ।
सनराइज बैंकले पनि केही समयअघि मात्रै आरती राणालाई डेपुटी सीइओ बनाएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको अध्यक्ष नै महिला छिन् ।
यी हुन् धेरै महिला कर्मचारी राख्ने १० वाणिज्य बैंक, प्रभु बैंक पहिलो, कुनमा कति ?
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये १५ बैंकका उच्च व्यवस्थापन तहमा महिला पुगेका छन् । नविल बैंकमा १०, नेपाल बैंकमा ६, नेपाल इन्भेष्टमेन्ट बैंकमा ५ जना, सानिमा बैंकमा ४, स्ट्याण्डर्ड चार्टर्ड बैंकमा २ जना महिला उच्च व्यवस्थापनमा छन् । त्यसैगरी, नेपाल वंगलादेश, एनएमबि, प्रभु, सिदार्थ, सेञ्चुरी, सनराइज, ग्लोबल आइएमइ, सिटिजन्स र लक्ष्मी बैंकमा १/१ जना महिला उच्च् व्यवस्थापनमा छन् ।
त्यसो त देशको राष्ट्रप्रमुख नै महिला छन् । सर्बोच्च अदालतमा पनि महिला प्रधानन्यायधीस भइसकेकी छन् । यद्यपि अहिलेसम्म देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री भने महिला हुन सकेका छैनन् । त्यसैगरी, बैंकिङ क्षेत्रका लागि सर्बोच्च पद मानिने गभर्नरमा पनि महिला पुग्न सकेका छैनन् । आगामी दिनहरुमा यस्ता पदमा पनि महिलाको सहभागिता देख्न पाइयोस्, अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।