कोरोना कहरः बृज सिमेन्टको बिक्री १ अर्ब ३७ करोडले घट्यो



काठमाडौं । कोरोना भाइरस महामारीको असर हरेक व्यवसायमा देखिएकोछ । महामारी नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीका कारण देशको अर्थतन्त्रका साथै व्यापार व्यवसायमा गंभीर असर परेको हो ।

सन् २०२० को शुरुदेखि चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले वर्षभरी नै विश्वलाई तहसनहस बनायो । नेपालमा पनि ०७६ चैत ११ गतेदेखि लकडाउनको घोषणा गरिएको थियो ।

कोरोना कहरकै कारण बृज सिमेन्टको बिक्री १ अर्ब ३७ करोड रुपैयाँले घटेको छ । सन् २०१९ मा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेको बृजको बिक्री सन् २०२० मा २ अर्ब ८६ करोड रुपैयाँमा झरेको छ ।

पछिल्लो समय बग्रेल्ती खुलेका सिमेन्ट उद्योग र उद्योगबीच भएको कडा प्रतिस्पर्धा चुनौतिपूर्ण बन्दै गएको छ । हालसम्म ५५ वटा सिमेन्ट उद्योग र २० वटा क्लिंकर उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा आइसकेका छन् । केही ठूला उद्योग पाइपलाइनमा छन् ।

सिमेन्ट उद्योगहरुबीच हुन थालेको प्राइस वार अर्को चुनौति हो, जसले कम्पनीको आम्दानीमा असर पारेको बताइएको छ ।

बृज सिमेन्टमा नेपालको प्रतिष्ठित व्यावसायिक घराना केडिया अर्गनाइजेशनको ५० प्रतिशत र भारतको शान्ता सिमेन्टको ५० प्रतिशत स्वामित्व छ ।

सन् २००० देखि सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगले प्रतिदिन १२ सय टन उत्पादन क्षमता राख्छ । उद्योगका देशभर ३०० डिलर छन् ।

सन् २०२० मा यो उद्योगले सिमेन्ट उत्पादन गर्नका लागि आवश्यक पर्ने ८२ प्रतिशत कच्चा पदार्थ (क्लिंकर) अर्घाखाँची सिमेन्ट उद्योग प्रालिसँग किनेको छ ।

पछिल्लो राजनीतिक अवस्थाले विकास निर्माणका काम प्रभावित हुने र आगामी दिनमा अपेक्षितरुपमा सिमेन्टको बिक्री बढ्न सक्ने अवस्था देखिँदैन । यद्यपि कोरोनाको प्रभाव कम हुँदै गएकाले केही सुधार हुने भने अनुमान गर्न सकिन्छ ।

यो उद्योगले विभिन्न ५ ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले १ अर्ब ९७ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ । इक्रा नेपालले ए फोर प्लस रेटिङ दिएको छ ।


पुष्प दुलाल