राष्ट्र बैंकले कहिले पाउँछ डेपुटी गभर्नर ?



काठमाडौं । यतिवेला मुलुकको केन्द्रिय बैंकको डेपुटी गभर्नर पद रिक्त छ । चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ ५ वर्षे कार्यकाल सकेर फागुन १८ गते अवकास भएसँगै राष्ट्र बैंकका डेपुटी गभर्नरको पद रिक्त भएको हो ।

दुवै डेपुटी गभर्नर राष्ट्र बैंकको उच्च व्यवस्थापन मात्रै नभइ सञ्चालक समितिको पदेन सदस्य पनि हुन् । त्यसैले डेपुटी गभर्नरको अभावमा राष्ट्र बैंकका कामहरु प्रभावित हुन्छन् ।

गभर्नरको सिफारिसमा र अर्थमन्त्री प्रस्तावमा नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।

गभर्नर महाप्रसाद अधिकारीले फागुन १९ गते नै नयाँ डेपुटी गभर्नरका लागि नाम सिफारिस गरिसकेका छन् ।

‘मैले १९ गते नै ४ जनाको नाम सिफारिस गरिसकेको छु,’ गभर्नर अधिकारीले क्लिकमाण्डूसँग भने, ‘मैले मेरो काम सिध्याएको छु, अब सरकारले गर्नुपर्ने काम बाँकी छ ।’

रित्त रहेको एउटा पदमा २ जनाका दरले गभर्नरले सिफारिस गर्नुपर्ने हुन्छ । गभर्नरले राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट सिफारिस गर्नुपर्छ ।

‘डेपुटी गभर्नर चाँडै नियुक्ति भए मलाई पनि काम गर्न सजिलो हुन्थ्यो,’ अधिकारीले भने ।

डेपुटी गभर्नरका लागि शक्तिकेन्द्रको तीब्र लविङ भइरहेकाले अन्तिम समयमा सिफारिसमा परेका नाम समेत परिवर्तन हुनसक्ने स्रोतहरुको दाबी छ । अहिलेसम्म क-कसको नाम सिफारिस भएको छ भनेर खुलाइएको छैन ।

‘गभर्नरले नाफा सिफारिस गरिसकेको भए पनि राजनीतिक समिकरण र शक्तिकेन्द्रको लबिङपछि सरकारले नामै तोकेर फलाना फलानाको सिफारिस पठाउनू भन्न पनि सक्छ,’ स्रोतले भन्यो, ‘जे भए पनि भरे भोलि नै डेपुटी गभर्नर नियुक्तिको संभावना छ ।’


पुष्प दुलाल