बढी बिजुली चाहिएका बेला किन बन्द गरियो चिलिमे जलविद्युत् केन्द्र ?



काठमाडौं । नदीमा जलसतह कम भएका कारण आन्तरिक उत्पादन घटेर असाध्यै न्यून बिन्दुमा ओर्लिएको बेला नेपाल विद्युत् प्राधिकरणले अर्को एक आयोजना बन्द गरेको छ ।

चिलिमे कम्पनीमा सञ्चालकै सञ्चालकको भीड, निर्माणाधिन आयोजना रुग्ण

रसुवामा रहेको चिलिमे विद्युत् केन्द्र बन्द गरिएको छ । सो आयोजनाबाट हालपनि २२ मेगावाट क्षमतामा नै बिजुली उत्पादन हुने गरेको छ । भारतबाट झण्डै ७२५ मेगावाट बिजुली आयात भइरहेको बेला सो आयोजना समेत बन्द हुँदा थप २२ मेगावाट बिजुली आयात गर्नुपर्ने अवस्था आएको छ ।

थप बिजुली ल्याउँदा भारतबाट मात्रै ७४७ मेगावाट बिजुली आयात गर्नुपर्ने अवस्था आएको छ ।

चिलिमेमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले बिजुली उत्पादन बन्द गरिएको छ । चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो ।

केन्द्रका प्रमुख मनिष बिष्टका अनुसार प्रयोग भइराखेको उपकरण परिवर्तन गराउन द्रुतरूपमा काम अगाडि बढिरहेको र चार/पाँच दिनभित्रजडान सम्पन्न गरी पुनः यथावतरूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

विसं २०६० भदौ ८ गतेबाट उत्पादन शुरू भएको २२ मेगावाट उत्पादन क्षमताको विद्युतगृहमा जडित उपकरण निकै पुरानो भएकाले बीचबीचमा पर्न सक्ने असरलाई मध्यनजर राखी उत्पादनकार्य निरन्तर सहज पार्न पुराना हटाई नयाँ उपकरण जडान गर्न थालिएको केन्द्र प्रमुख बिष्टले जानकारी दिए ।

छिटोभन्दा छिटो उपकरण जडान कार्य सम्पन्न गराउन कार्यरत प्राविधिक अहोरात्र खटिरहेका छन् । २ अर्ब ६४ करोड रुपैयाँको लागतमा निर्माण भएको चिलिमे जलविद्युत् आयोजनाको २ हजार ८२६ मिटर हेडरेस सुरूङ रहेको छ ।


क्लिकमान्डु