बहराइनका राजपरिवारका सदस्यसहित १६ जना सगरमाथा आरोहण गर्न नेपाल आउँदै



काठमाडौं । सगरमाथा आरोहण गर्नका लागि बहराइजका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ । बहराइनस्थित नेपाली राजदूतावासका अनुसार उनीहरु मार्च १५ अर्थात् चैत २ गते नेपाल आउने भएका छन् ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बिहीबार आरोहण दलका सदस्यहरुलाई भेट गरी यस विषयलाई पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।

बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको उक्त टोली नेपालमा ७९ दिन रहनेछन् । उक्त टोली विशेष विमानबाट नेपाल आउनेछन् ।

सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकर्स प्रालिले गरिरहेको छ । उक्त टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफतालपूर्वक आरोहण गरेको थियो ।


क्लिकमान्डु