रिबेसिङपछि प्रतिव्यक्ति आय ११४८ अमेरिकी डलर पुग्यो



काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी ११ सय ४८ अमेरिकी डलर पुगेको छ । राष्ट्रिय लेखा तथ्यांक रिबेसिङ गर्दा प्रति व्यक्ति आम्दानी बढेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालीको प्रतिव्यक्ति आम्दानी ११ सय ४८ अमेरिकी डलर पुगेको बिहीबार पत्रकार सम्मेलनमार्फत् केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । २०७५/७६ मा नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार ५१ अमेरिकी डलर रहेको थियो ।

राष्ट्रिय लेखा तथ्यांक रिबेसिङ गर्दा ९७ अमेरिकी डलरले नेपालीको आय बढेको हो ।

रिबेसिङका आधारमा हेर्दा आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय ११७१ डलर थियो भने त्यसको अघिल्लो वर्ष अर्थात् आव २०७४/७५ मा ११४५ डलर थियो । रिबेसिङ नगर्ने हो भने गत आव २०७५/७६ को तुलनामा आव २०७६/७७ मा प्रतिव्यक्ति आय १०५१ अमेरिकी डलरबाट बढेर १०९७ पुगेको छ ।

विगतका वर्षमा राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दा आर्थिक वर्ष २०५७/५८ (सन् २०००/०१) लाई आधार वर्ष मानिएको थियो । सो वर्षको वस्तु तथा सेवको मूल्यलाई स्थिर राखि त्यसपछिका वषर््हरुका स्थिर मूल्यमा आधारित राष्ट्रिय लेखा तथ्यांकहरु मापन गर्ने गरिएको थियो ।

अहिलेसम्म राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दा लिइएको आधार वर्ष २०५७/५८ (सन् २०००/०१) लाई २०६७/६७ (सन् २०१०/११) ले प्रतिस्थापन गरी नयाँ आधार वर्ष तय गरेको छ ।

आधार वर्ष परिवर्तन हुँदा स्थिर मूल्यमा आधारित राष्ट्रिय लेखा तथ्यांकहरु मा परिवर्तन नभएर प्रचलित बजार मूल्यमा आधारित राष्ट्रिय लेखा तथ्यांकहरु समेत प्रभावित हुने देखिएको छ । नयाँ आधार वर्ष तय गर्दा पहिले छुटेका केही आर्थिक क्रियाकलापहरु समावेश गरिएको छ ।

विश्वव्यापी रुपमा लेखा पद्धतिमा आएको परिवर्तन लागु गरिएको हो । नयाँ गणना विधी प्रयोग हुन सक्ने र कुल गार्हस्थ्य उत्पादनका अपक्षेत्रहरुको संख्यामा समेत परिवर्तन आउन सक्ने हुँदा प्रचलित मूल्यमा आधारित राष्ट्रिय लेखा तथ्यांकहरुमा समेत प्रभाव पर्ने देखिन्छ ।

नेपालमा राष्ट्रिय लेखा अनुमानहरु सन् १९६२/६२ देखि शुरु गरिएको हो । नेपालले विगतमा सन् १९६४/६५, १९७४/७५, १९९४/९५ र २०००/२००१ लाई आधार वर्ष तय गरेको थियो ।


क्लिकमान्डु