ट्राफिक जाम कम गर्न चक्रपथका ३ ठाउँमा ओभरपास बनाइने, पहिलो चरण ग्वार्कोमा



काठमाडौं । सरकारले कोटेश्वर–कलंकी सडक खण्डमा हुने ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक व्यवस्थापन संरचना (ग्रेड सेपरेटेड इन्टरसेक्सन) बनाउने भएको छ । सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोक, सातदोबाटो चोक र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन बनाउन तयारी जुटेको छ ।

पहिलो चरणमा ललितपुरको ग्वार्को चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन बनाउन लागिएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख विजय जैशीले जानकारी दिए ।

‘तीन स्थानमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने भनेर परामर्शदाता छनोट गरी डिजाइन प्रक्रिया अघि बढाइएको छ । परामर्शदाताले डिजाइन तयार पारिसकेका छन्’, जैशीले भने, ‘परामर्शदाताले तयारको गरेको डिजाइन स्वीकृत हुने प्रक्रियामा छ ।’

डिजाइन पास भएसँगै निर्माण प्रक्रिया अघि बढाइने जैशीले बताए ।

प्रारम्भिक डिजाइन र लागत मूल्यका कारण सातदोबाटो र एकान्तकुनामा तत्काल नयाँ पूर्वाधार विकास गर्न समस्या हुने देखिएको छ । तुलनात्मकरुपमा सस्तो र नयाँ संरचना पनि थोरै निर्माण गर्नुपर्ने भएकाले ग्वार्को चोकमा भने पाइलट प्रोजेक्टका रुपमा निर्माण गर्न केन्द्रको भनाइ छ ।

डिजाइन तयार भएसँगै केन्द्रले ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण प्रक्रिया अघि बढाउन भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल तीव्र पारेको छ । ग्वार्को चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन बनाउन भौतिक मन्त्री वसन्त नेम्बाङ पनि सकारात्मक छन् ।

नयाँ संरचना निर्माण गर्नका लागि भने हालसम्म अर्थमन्त्रालयले बजेट विनियोजन गरेको छैन । डिजाइन स्वीकृत भएपछि निर्माण प्रक्रिया अघि बढाउन अर्थमन्त्रालयसँग बजेट माग गरिने जैशीले बताए । मन्त्रालयले बजेट स्वीकृत गरेसँगै निर्माण प्रक्रिया अघि बढाउने तयारीमा केन्द्र रहेको छ ।

काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक चापलाई व्यवस्थित गर्न ग्रेड सेपरेटेड इन्टरसेक्सन उपयुक्त हुने जौशीले बताए ।

‘उपत्यकाको प्रमुख समस्याका रुपमा ट्राफिक जाम देखिएको छ । वर्षेनी सवारीसाधन थपिरहेका छन्’, जैशीले भने, ‘बढ्दो ट्राफिक चाप व्यवस्थापन गर्न नयाँ संरचना आवश्यक छ । परम्परागत डिजाइनको सडकले ट्राफिक चाप धान्न सकिने अवस्था छैन ।’

साढे १० किलोमिटर कलंकी–कोटेश्वर सडक ८ लेनमा बिस्तार गरिसकिएको छ । २०७० सालदेखि बिस्तार प्रक्रिया अघि बढाइएको कोटेश्वर–कलंकी सडक खण्ड सरकारलाई २०७५ माघमा हस्तान्तरण गरिएको थियो ।

सडक विभागले बिस्तारित सडक खण्डमा ट्राफिक व्यवस्थापन संरचना बनाउन खोजेको छ । चक्रपथ हुँदै सहर भित्रिने र बाहिरिने सवारीका कारण ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा सवारी चाप उच्च छ । ट्राफिक व्यवस्थापन गर्ने संरचना निर्माण गरेर ती चोकका सवारी जाम घटाउने केन्द्रको योजना छ ।

बिस्तारित कलंकी–कोटेश्वर खण्डकै कलंकी चोकमा अन्डरपास निर्माणपछि ट्राफिक व्यवस्थापन सहज भएको छ । सडकको माथिल्लो वा तल्लो स्थानमा कुनै संरचना निर्माण गर्न सकिएमा ट्राफिक व्यवस्थापन सहज हुने केन्द्रको ठम्याइ छ । ट्राफिक व्यवस्थापनमा कलंकीमा देखिएको सफलताकै आधारमा चक्रपथका तीन स्थानमा नयाँ संरचना बनाउन विभाग अग्रसर भएको हो ।

तीन स्थानको डिजाइन तयार
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले चक्रपथको कलंकी–कोटेश्वर खण्ड अन्तर्गत सबैभन्दा धेरै जाम हुने ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने योजना अघि बढाएको थियो । सोही योजनाअनुसार जियोकम÷बीडीए÷रेज जेभीले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा पाएको हो ।

परामर्शदाताले ग्वार्को चोकमा ओभरपास, सातदोबाटो खण्डमा सातदोबाटो चोक र चापागाँउ चोकमा अन्डरपास, एकान्तकुना खण्डमा एकान्तकुना चोकमा ओभरपास र नख्खु चोकमा अण्डरपास निर्माण गर्ने गरी डिजाइन गरेको छ ।

ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण भएमा चक्रपथको मूख्य लेन हुँदै गुड्ने सवारीसाधन बिना अबरोध अघि बढ्ने छन् । मूख्य लेनमा अन्डरपास र ओभरपास निर्माण गरिनेछ । कोटेश्वर–कलंकी सडक खण्ड ८ लेनको छ । मूख्य सडक चार लेन, सहायक सडक २ लेन र सर्भिस सडक २ लेनको छ । चक्रपथको सहायक सडकबाट गुड्ने सवारी भने अन्डरपासको माथि र ओभरपासको तल्लो भागबाट अघि बढ्नेछन् ।

ग्वार्को चोकको लागत २२ करोड ३५ लाख
डिजाइनअनुसार ग्वार्को चोकमा ओभरपास निर्माण गर्न करिब २२ करोड ३६ लाख रुपैयाँ लाग्ने पूर्वानूमान छ ।

परामर्शदाताले तयार गरेको डिजाइन अनुसार ग्वार्को चोकमा ओभरपास (सडक माथि सडक ) निर्माण गरिनेछ । ३५ मिटर लम्बाईको ओभरपास हुनेछ ।

ओभरपासको उचाई ५.५ मिटरको हुनेछ । ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्याम निर्माण गरिनेछ ।

ओभरपासले चक्रपथको मूख्य चार लेन ओगट्ने छ । चक्रपथको मूख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् । ग्वार्को–लामाटार सडक र ग्वार्को–पाटन सडकतर्फ जाने सवारीसाधन भने ओभरपास मुनिबाट गुड्नेछन् ।

सातदोबाटो चोकको लागत ६२ करोड ५४ लाख
डिजाइन अनुसार ग्वार्को चोकमा ओभरपास निर्माण गर्न करिब २२ करोड ३६ लाख रुपैयाँ लाग्ने पूर्वानूमान छ । परामर्शदाताले तयार गरेको डिजाइन अनुसार सातदोबाटो सडक खण्डमा सातदोबाटो चोक र चापागाँउ चोकमा अण्डरपास निर्माण गर्नुपर्ने देखिएको छ । यी २ चोक एकआपसको नजिकै पर्ने भएकाले २ वटा अण्डरपास बनाउनुपर्ने देखिएको हो । दुबै अण्डरपासको लम्बाई २५ मिटरकै हुनेछ ।

एकान्तकुना चोकको लागत ४७ करोड २ लाख
डिजाइन अनुसार एकान्तकुना चोकमा ओभरपास र अण्डरपास निर्माण गर्न करिब ४७ करोड २ लाख रुपैयाँ लाग्ने पूर्वानूमान छ । परामर्शदाताले तयार गरेको डिजाइनअनुसार नख्खु चोकमा अण्डरपास र एकान्तकुना चोकमा ओभरपास निर्माण गर्नुपर्ने देखिएको छ । नख्खु चोकको अण्डरपासको लम्बाई २५ मिटरको हुनेछ । एकान्तकुना ओभरपासको लम्बाई ३५ मिटरको हुनेछ ।


क्लिकमान्डु