स्वदेशी तयारी पोसाकको माग बढे पनि श्रमिक अभावले आपूर्तिमा कठिनाइ



काठमाडौं । गत वर्ष कोभिड–१९ का कारण ठप्प भएको नाका हालसम्म पनि सहज हुन सकेको छैन । तर, नाका बन्द भए पनि तयारी पोसाक तयार पार्ने गार्मेन्टको व्यापार भने नाका बन्द भएकै कारण बढेको छ ।

कोरोनाले नाका बन्द भएकै कारण हजारौं मालवाहक गाडी नाकामा अड्किएका थिए । तर पछिल्लो समय भने केही सहज भए पनि निर्यातमा भने शून्य अवस्थामै छ ।

एकातिर कोरोनाले गर्दा ठप्प हुँदा अन्य व्यवसायी मारमा परे भने अर्कोतर्फ नाका बन्द भएकै कारण नेपाली बजारमा नेपाली उद्योगले उत्पादन गरेको तयारी पोसाकको खपत बढेको छ ।

विगतका दिनमा उत्पादनमध्ये १५ प्रतिशत पनि नेपाली तयारी पोसाकको माग आउँदैनथ्यो भने अहिले भने मागअनुसार नै आपूर्ति गर्न नसकेको गार्मेन्ट उद्योगीहरू बताउँछन् ।

बजारमा मौसम अनुसारको तयारी पोसाक भित्रिने गर्दछ । तर, यो वर्ष कोरोनाले गर्दा व्यापारीहरूले पर्याप्त मात्रामा तयारी पोसाक आयात गर्न सकेको छैनन् । यसले गर्दा नेपालमा रहेका गार्मेन्ट उद्योगलाई भने अवसर प्राप्त गरेको छ ।

गार्मेन्ट उद्योगहरूको अनुसार विगतको वर्षहरूको तुलनामा बजारमा करिब ३० प्रतिशतभन्दा बढी तयारी पोसाकको माग आएको बताएका छन् । तर, अवसरसँगै चुनौतीहरु पनि रहेको उनीहरुको भनाइ छ ।

अहिले गर्मी मौसम शुरु भएसँगै गार्मेन्ट उद्योगलाई माग अनुसार आपूर्ति गर्न नसकेको उनीहरूको गुनासो छ । बजारमा अत्यधिक माग आएसँगै बजारमा भने श्रमिकको अभावले भनेअनुसार माग आपूर्ति गर्न नसकेको उनीहरूले बताएका छन् ।

श्रमिक अभावले माग अनुसार आपूर्ति गर्न कठिन
बजारमा गर्मीको मौसमका लागि आवश्यक तयारी पोसाकको अत्यधिक माग आए पनि श्रमिकको अभावले भने जस्तो माग पूरा गर्न सकेका छैनन् । यस्तै, थ्रेड गार्मेन्ट उद्योगका सञ्चालक कृष्णराज तिमल्सिनाले कपडाको उच्च माग भए पनि श्रमिकको अभावले मागअनुसार बजारमा आपूर्ति गर्न नसकेको बताए ।

यो वर्ष र विगतको वर्षहरुमा पनि उत्पादन हुने बराबर हो । तर, माग बढेपछि उत्पादन पनि बढाउनुपर्ने हुन्छ । त्यसको लागि भने खासै तयारी नभएको उनको भनाइ छ ।

‘हाल कम्पनीमा २५० जना कर्मचारी छन् । कम्पनीको क्षमता भने ३५० रहेको छ । अहिले करिब सय जनाको श्रमिक कम भएको देखिन्छ,’ उनले भने । देशमा बेरोजगारीको संख्या बढ्यो भन्छन् । तर, दक्ष कामदारको अभावले गर्दा अवसर प्राप्त भए पनि राम्रो गर्न नसकेको उनको बुझाइ छ ।

वाल स्ट्रिट गार्मेन्टका सञ्चालक प्रदिप अधिकारीका अनुसार गत वर्षको तुलनामा दोब्बरले तयारी पोसाकको माग बढेको बताए । तर, पछिल्लो समय गार्मेन्ट उद्योगको संख्या बढ्दै जाँदा श्रमिकको अभाव भएको उनको भनाइ छ ।

‘सिजनको बेला श्रमिक पर्याप्त भए मागअनुसार आपूर्ति गर्न सहज हुन्थ्यो । बजारमा श्रमिकको अभाव हुँदा सीमित मात्रै उत्पादन गर्न सकेका छौं,’ उनले भने ।

अहिले तयारी पोसाकको माग उच्च भएकाले उद्योगहरूले आफ्नो उत्पादन बढाएको नेपाल स्थानीय तयारी पोसाक संघका अध्यक्ष किशोर नेपाल बताउँछन् । कोभिडले गर्दा तयारी पोसाकमा एक खालको अवसर प्राप्त भए पनि श्रमिक अभाव हुँदा सीमित उत्पादन भइरहेको उनले बताए ।

‘विगतका दिनमा यहि श्रमिक बढी हुन्थ्यो । तर, अहिले बजारमा माग बढी आए पनि उक्त श्रमिकले नै बढीभन्दा बढी उत्पादन गर्न नसक्ने स्थिति छ,’ उनले क्लिकमान्डूसँग भने, ‘दक्ष कामदार तयार गर्न धेरै समय लाग्ने भएकाले यस क्षेत्रमा कामदारको अभाव भएको हो ।’ यस्तै, विगतको दिनको तुलला गर्दा माग भने दोब्बरले बढेको बताए ।

विदेशबाट आयात भएका पोसाकसँग प्रतिस्पर्धा गर्न गुणस्तर र मूल्यमा ध्यान दिनुपर्छ: व्यवसायी
बजारमा तयारी पोसाकको उच्च माग भएपछि नेपाली उद्योगीहरू सकारात्मक भएको देखिन्छ । तर, अहिले कै जस्तो अवस्था सँधै रहन्छ त ? भन्ने प्रश्नमा भने उद्योगीहरूको फरक–फरक विचार रहेको छ ।

यद्यपि अधिकांश उद्योगीहरूले भने करिब ३ वर्षको अवधिसम्म यही अवस्था रहेमा आत्मनिर्भर बन्न सक्ने अनुमान गरेका छन् । त्यसका लागि गुणस्तर, प्राविधिक र मूल्यमा विशेष ध्यान दिनुपर्ने स्थानीय तयारी पोसाक संघका अध्यक्ष नेपाल बताउँछन् ।

उनका अनुसार अहिलेको बजारलाई धान्नको लागि उत्पादन बढाउने र गुणस्तरमा ध्यान दिनुपर्ने बताए । साथै, विदेशबाट आयात भएका तयारी पोसाकसँग प्रतिस्पर्धा गर्न सक्ने बजार निर्माण भए मात्रै आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ ।

‘ढिलोमा आगामी दुई वर्षमा देशको जनसंख्यालाई उत्पादन गरी आपूर्ति गर्न सक्ने अवस्थामा पुग्छौं । तर, केही महिनामा बाहिरी नाका र बजार पनि खुल्ला भएसँगै नेपाली बजारमा पनि उत्पादन बढ्दै जान्छ ।

जसमा विदेशबाट आयात भएको र नेपालमा उत्पादित सामग्रीको तुलना तथा प्रतिस्पर्धा हुनेछ । त्यसैले आगामी दिनमा कस्तो मूल्यमा कतिको गुणस्तर प्रदान गर्नेमा विशेष ध्यान दिई प्रतिस्पर्धा गर्नुपर्ने उनले सुझाए ।

हाल देशभर १५ सय हाराहारीका गार्मेन्ट उद्योग सञ्चालनमा छन् । त्यसबाट सामान्यरुपमा उपत्यकामा मात्रै १ लाख बढी र उपत्यका बाहिरमा करिब ४ हजारले रोजगारी पाएको उनको अनुमान छ ।

यस्तै थे्रड गार्मेन्टका सञ्चालक तिमल्सिनाको अनुसार पनि सरकारले यस क्षेत्रलाई पनि समेटेर केही निर्णय गर्न सकेमा सहजै आत्मनिर्भर हुने बताए । उद्योगीहरूले अहिले विदेशबाट आयात भएको जस्तै गुणस्तर र सस्तो मूल्यमा प्रदान गरिरहेको हुनाले आगामी दिन अझ प्रतिस्पर्धा गरी उत्पादन गर्नका लागि सरकारले सहज बनाउनुपर्ने उनको धारणा छ ।

साथै, सरकारले भन्सारलगायत अन्य विभिन्न कार्यमा कडाई गरेमा विदेशको भन्दा पनि सस्तो र गुणस्तरको पोसाक नेपालमै तयार हुने उनले बताए ।

कच्चा पदार्थको अभाव
हाल गार्मेन्ट उद्योगमा श्रमिकको अभावले माग गरेअनुसार आपूर्ति गर्न नसकेको अधिकांश उद्योगीको गुनासो छ । यससँगै गार्मेन्ट क्षेत्रको ठूलो समस्या हो कच्चा पदार्थ ।

उद्योगीहरूका अनुसार कच्चा पदार्थ आयातमा निकै समस्या भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने उनीहरूको भनाइ छ । थ्रेड गार्मेन्टका सञ्चालक तिमल्सिनाले तयारी पोसाकलाई अत्यावश्यक सानोभन्दा सानो कच्चा पदार्थ चीन वा भारतबाट आयात गर्नुपर्ने अवस्था छ । यसले गर्दा बाहिरको बजारसँग तुलनात्मक रुपमा प्रतिस्पर्धा गर्न नसक्नुको ठूलो समस्या रहेको बताए ।

उद्योगीहरूले तयारी पोसाक नेपालमै तयार गरी आत्मनिर्भर बन्न सक्ने भनिए पनि कच्चा पदार्थको समस्याले गर्दा आत्मनिर्भर हुन धेरै समय लाग्ने गार्मेन्ट एशोसिएन अफ नेपालका अध्यक्ष चन्डीप्रसाद अर्याल बताउँछन् ।

उनका अनुसार विदेशमा उत्पादित तयारी पोसाकको सोही देशमा कच्चा पदार्थको कुनै समस्या हुँदैन । त्यसैले सस्तो र गुणस्तरकोे पोसाक तयारी हुन्छ । तर, नेपालमा सबै कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले कच्चा पदार्थको स्वदेशमै व्यवस्था नभएसम्म आत्मनिर्भर हुन नसक्ने उनले बताए ।

‘तयारी पोसाकका लागि आवश्यक सम्पूर्ण कच्चा पदार्थको उत्पादन आफ्नै देशमा व्यवस्था हुनुपर्छ । अनि मात्रै आत्मनिर्भर हुन सक्छौं,’ उनले भने, ‘कच्चा पदार्थसँगै उद्योग, श्रमिक र विदेशमा पोसाक उत्पादनमा प्रयोग हुने मेसिनको विकास गरेर आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ ।’

साथै, गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा गर्न सके मात्रै गार्मेन्ट उद्योग पूर्णरुपमा चलायमान भई आत्मनिर्भर हुने बताए ।

त्यति मात्रै नभई गार्मेन्टमा अहिले जुन स्थितिमा रहेको छ सोही अवस्थामा रहनको लागि सरकारले नीति नियममा लागू गर्न सक्नुपर्ने उनले उल्लेख गरे । त्यस्तै, यस क्षेत्रमा विदेशमा कसरी उत्पादन गर्छन, कसरी बजारमा प्रतिस्पर्धा गर्छन भन्ने विषयमा पनि अध्ययन तथा अनुसन्धान गर्न सकेमा नेपाली उत्पादकबाटै आत्मनिर्भर हुन सक्ने उनले बताए ।


क्लिकमान्डु