बुध्द एयरले सीताको जन्मभूमि जनकपुरदेखि रामको जन्मभूमि अयोध्यामा उडान गर्दै



काठमाडौं । आन्तरिक उडानतर्फ अग्रणी बुध्द एयरले जनकपुरदेखि भारतको अयोध्याबीच हवाई उडानका लागि तयारी शुरु गरेको छ ।

सीताको जन्मभूमि जनकपुरदेखि रामको जन्मभूमि अयोध्याबीच उडान गर्नका लागि आफूहरुले तयारी शुरु गरेको बुध्द एयरका प्रबन्ध सञ्चालक बीरेन्द्रबहादुर बस्नेतले क्लिकमाण्डूलाई जानकारी दिए ।

हाल भारत सरकारले अध्योध्या विमानस्थलाई भगवान रामको नामको नाममा नामाकरण गर्ने र विमानस्थलको स्तारेन्नतीका लागि १०१ करोड भारु बजेट छुट्याएर काम अगाडि बढाइसकेको छ ।

उक्त विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा मान्यताप्राप्त गरिसकेपछि बुध्द एयरले उडान गर्ने गरी तयारी गरेको बस्नेतको भनाइ छ ।

‘धार्मिक हिसाबले पनि यी दुई गन्तव्यको उडान महत्वपूर्ण हुनेछ । पहिले हामीले दुई वटा धार्मिकस्थल पशुपतिनाथदेखि बनारससम्मको उडान गर्यौ भने अब जनकपुर र अयोध्यालाई हवाई उडानमार्फत जोड्ने जमर्को गरेका छौं,’ बस्नेतले भने ।

बिगतमा भारतको कलकत्तालगायतका गन्तव्यमा उडान गर्दा घाटामा गएपछि उडान बन्द गरेको बुध्द एयरले अब अयोध्यामा उडान शुरु गर्ने तयारी गरेको हो ।

‘धार्मिक हिसाबले पनि यी दुई गन्तव्यबीचको उडान व्यवसायिकरुपमा पनि सफल हुन्छ भन्ने विश्वास छ । त्यसका साथै उक्त विमानस्थलमा एटीएआर विमान नै सञ्चालन गर्न समस्या नभएपछि हामीले तयारी शुरु गरेका हौं,’ उनले भने ।

यसका लागि जनकपुरमा पनि पूर्वाधार निर्माण भइरहेको र अन्तर्राष्ट्रिय उडानका लागि अध्यागमनको कार्यालय, भन्सार तथा सुरक्षाको व्यवस्था गर्ने हो भने अन्तर्राष्ट्रिय उडानका लागि समस्या नभएको बस्नेतको तर्क छ ।

बस्नेतका अनुसार यो उडान १ घण्टाको हुनेछ । दिनभरी आन्तरिक उडान भरिसकेपछि साँझ ६ बजे उडान गर्नेछ भने राति ९ बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछ । र, यो बुध्य एयरका लागि बोनस फ्लाइट हुने उनको भनाइ छ ।

बुध्द एयरले हाल भारतको बनारसमा उडान गरिरहेको छ । तर पछिल्लो समय कोरोनाका कारण यो उडान पनि बन्द छ ।

१ घण्टाको उडान भएकाले यात्रुहरुलाई त्यति ठूलो भाडा भने पर्दैन् ।

‘काठमाडौंदेखि नेपालगञ्जबीच जत्तिकै दूरी भएकोले भाडा पनि सोही अनुसार हुन सक्छ । तर नेभिगेसन र ग्राउण्ड ह्यान्डलिङ चार्ज बढी भयो भने सामान्य वृद्धि हुन सक्छ,’ उनले भने ।

पछिल्लो समयमा बुध्द एयरले आन्तरिक उडानतर्फ आक्रमक बन्दै गएको छ । कम्पनीले हाल दैनिक १ सय उडान गर्दै आएको छ । बुध्द एयरले हाल औसतमा दैनिक ५ हजार ५ सय यात्रुलाई सेवा दिँदै आएको छ ।


क्लिकमान्डु