१९ अर्ब खर्चेर मुग्लिन-नागढुंगा सडक फराकिलो पारिँदै, बजार क्षेत्र ४ लेन र नागढुंगा-नौविसे ३ लेन



काठमाडौं । सरकारले राजधानी प्रवेश गर्ने मूख्य सडक मुग्लिन-नागढुंगा सडक स्तरोन्नति गर्ने भएको छ ।

सडक विभाग (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाले मुग्लिन-नागढुंगा सडक विस्तार प्रक्रिया अघि बढाउन लागेको हो ।

साँघुरो नागढुंगा-मुग्लिन सडकलाई नारायणघाट-मुग्लिन सडक खण्ड जस्तै बनाउन खोजिएको हो ।

बजार क्षेत्रमा ४ लेन, खुल्ला क्षेत्र २ लेन र नागढुंगा-नौविसे खण्ड ३ लेनमा विस्तार गर्न लागिएको (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाका प्रमुख अमृतमणी रिमालले जानकारी दिए ।

यो सडक खण्डको लम्बाई ९६ किलोमिटर लामो छ ।

तीन चरणमा काम

यो सडक खण्डलाई ३ वटा प्याकेजमा विभाजन गरेर स्तरोन्नति गर्न लागिएको रिमालले जानकारी दिए । नागढुंगा-नौविसे, नौविसे-मलेखु र मलेखु-मुग्लिन सडक खण्डगरी तीन वटा प्याकेज बनाइएको छ ।

योजनाले नागढुंगा-नौविसे र नौविसे-मलेखु सडक खण्ड निर्माण गर्न इच्छुक निर्माण व्यवसायीसँग आसय माग गरिसकेको छ । नागढुंगा-नौविसे र नौविसे-मलेखु खण्ड निर्माण गर्न इच्छा जाहेर गर्ने निर्माण व्यवसायीको पूर्वमूल्यांकन योग्यता जाँच भइरहेको छ । यी दुई प्याकेजमा ४० वटाभन्दा बढी निर्माण व्यवसायीले आवेदन पेश गरिसकेको प्रमुख रिमालले जानकारी दिए ।

मलेखु-मुग्लिन खण्डको पूर्वमूल्यांकनका लागि आसय माग गर्ने प्रक्रियामा रहेको छ । नागढुंगा-नौविसे र नौविसे-मलेखु खण्ड निर्माणका लागि आयस व्यक्त गर्ने निर्माण व्यवासीयको मूल्यांकन २०७७ चैतसम्म सम्पन्न गर्ने योजनाको लक्ष्य छ ।

सडक स्तारोन्नति गर्न प्राविधिक रुपमा सबल देखिएका निर्माण व्यवसायीको प्रारम्भिकरुपमा सूचिकृत गरिनेछ । सूचिकृत भएका निर्माण व्यवसायीसँग आर्थिक प्रस्ताव माग गरिने छ । प्राविधिक रुपमा सबल र कम रकम प्रस्ताव गर्ने निर्माण व्यवसायीले सडक स्तरोन्नतिको जिम्मा पाउनेछन् ।

बजार क्षेत्र ४ लेन

योजनाले सडकलाई २ लेन, ३ लेन र ४ लेनमा स्तरोन्नति गर्नेछ । नागढुंगा-नौविसे सडक खण्ड ३ लेनको हुनेछ । नागढुंगा-नौविसे सडक खण्डमा सवारीसाधनले ठाडो उकालो चढाई गर्नुपर्ने हुन्छ ।

मालबहाक सवारीसाधनलाई ठाडो उकालो चढाईमा सहजता होस् भन्नका लागि एउटा थप डेडिकेटेड लेन विस्तार गरिनेछ । बस्ती तथा बजार भएका स्थानमा स्थानीय सवारीसाधन गुड्नका लागि सर्भिस लेन निर्माण गरिनेछ ।
सर्भिस लेनसहित बस्ती तथा बजार क्षेत्रका सडक ४ लेनको हुनेछ । पातलो बस्ती र पहाडी क्षेत्रको सडक भने २ लेनको हुनेछ ।

२१ पुल र १० आकाशे पुल

मुग्लिन-नौविसे सडकखण्डमा २१ ओटा पुल बन्नेछन् । पुल भने सबै चार लेनको हुने बताइएको छ । हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाई अनुसार नै छेउमा पुल निर्माण गरिनेछ । बजार क्षेत्रमा स्थानीयलाई सडक पार गर्न सहजता प्रदान गर्न १० वटा आकाशेपुल पनि निर्माण गरिनेछ ।

करिब १९ अर्ब लागत

नारायणघाट-मुग्लिन खण्ड विस्तारसँगै मुग्लिन-नागढुंगाको काम अघि बढाउन खोजिएको हो । मुग्लिन-नारायणघाट सडक २०७५ जेठमा विस्तार भइसकेको छ । यो सडक विश्व बैंकको ऋण सहयोगमा दुई लेनमा विस्तार गरिएको छ ।

मुग्लिन-नागढुंगा सडक पनि विश्व बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको हो । सडक विस्तार गर्न विश्व बैंकले ऋण दिने सहमति भइसकेको छ ।

यो सडक स्तरोन्नति गर्न करिब १९ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यसका लागि विश्व बैंकको सहयोगमा नपुग रकम नेपाल सरकारले खर्च गर्नुपर्नेछ । सडक स्तरोन्नति गर्न डिजाइन तयार पारिसकेको छ ।

परामर्शदाता आईसीटीले सडकको डिजाइन तयार गरेको हो । परामर्शदाताले सन् २०१८ मा सडक विभागलाई डिजाइन हस्तान्तरण गरिसकेको छ ।

‘मुग्लिन–नागढुंगा सडकको चौडा एक नासको छैन, कतै दुई लेन र केही साढे एक लेनको छ,’ रिमालले भने ‘विपरिद दिशाबाट गुडेका सवारीसाधन सहज रुपमा पास हुनेगरी सडक विस्तार गर्न खोजिएको हो ।’

आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रममा संघीय सरकारले २ लेनभन्दा तलका सडक निर्माण नगर्ने उल्लेख छ । पृथ्वी राजमार्ग राष्ट्रिय सडक हो । यो संघीय सरकारको मातहतमा छ ।

सन् १९७४ मा निर्माण गरिएको राजमार्गको अधिकतम चौंडा २ लेनभन्दा सानो छ । काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली गुणस्तरअनुरुप विकास गर्न खोजिएको हो ।


पुष्प दुलाल