‘डिजी पे’लाई भुक्तानी सेवा प्रदायकको अनुमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘डिजी पे प्रालि’लाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरि अनुमति पाएको हो ।

‘नेपालमा नगदरहित समाज निर्माणका लागि डिजी पेलेले पेमेन्ट सर्भिस गेटवेका रूपमा मात्र काम नगरी यसले मुलुकभित्र वित्तीय साक्षरता अभिवृद्धिका लागि समेत पहल गर्नेछ,’ डिजी पे प्रालिका प्रमुख कार्यकारी अधिकृत दिवकर पाण्डेले भने ।

पाण्डेकाअनुसार हालसम्म गुगल प्लेस्टोरबाट ५० हजार र आईओएस प्लेटफर्मबाट १० हजारभन्दा अधिक डिजी पे डाउनलोड भइसकेको छ ।

विभिन्न खालका मनोरञ्जनात्मक कार्यक्रमहरू, ब्युटीप्याजेन्ट आयोजकहरू, विभिन्न ब्रान्डका विक्रेता तथा ग्राहकमाझ लोकप्रिय भइसकेको उको भनाइ छ ।

‘डिजी पेका माध्यमबाट वस्तु किनमेल (इकमर्श), फोन सेवा रिचार्ज, विद्युत्, खानेपानी, इन्टरनेट आदिको भुक्तानी मात्र होइन, आफ्नै नजिकको स्थानमा आधारित कार्यक्रमको आयोजना, त्यस्ता कार्यक्रममा संलग्नता र सहभागिता, डिजिटल भोटिङसहितका कार्य सम्पन्न गर्न सकिन्छ,’ पाण्डेले भने, ‘नेपालमा डिजिटल भोटिङ सेवा शुरु गर्ने डिजी पे पहिलो वालेट हो ।’

राष्ट्र बैंकबाट औपचारिक रुपमा भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त गरेपछि अब डिजी पेले खाद्य तथा वस्तु किनमेल र त्यसको आपूर्ति, सिनेमा र हवाई टिकट, राइड सेयरिङलगायतका विशेषताहरु थप्ने उनले जानकारी दिए ।


पुष्प दुलाल